देशभर कांग्रेसबाट ३० हजार छ सय २८ जना उम्मेदवार

Image

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले विभिन्न पदमा गरी ३० हजार छ सय २८ जना उम्मेदवार उठाएको छ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दुई सय ६५ जना उम्मेदवार मेयर पदका लागि उठेको बताए।

यस्तै तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षका लागि पार्टीबाट उम्मेदवार रहेको महतले जानकारी दिए।एक सय ९४ जना उम्मेदवार उपमेयरमा उठेको र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए।

छ हजार ४३ जना भने वडाध्यक्षका लागि उम्मेदवार छन्। वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए।दलित महिला सदस्यमा पाँच हजार छ सय ९१ जना उम्मेदवार छन्। दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए।

‘गठबन्धन र कतिपय ठाउँमा मित्रवत प्रतिपर्धा गर्दा ३० हजार छ सय २८ जना उम्मेदवार छन्,’ उनले भने।