कैलाली पुगेर ओली भन्छन् : नातागोता व्यवस्थापनका लागि बनेको गठबन्धनलाई निर्वाचन मार्फत विदाइ गर्नुपर्छ
धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्नकै लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बिहीबार कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो गठबन्धनलाई स्थानीय तह निर्वाचनबाट बिदाइ गर्नुपर्ने समेत बताए। उनले गन्तव्य बिनाको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरी बाँडिचुँडी खानेमात्रै रहेको आरोप लगाए।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन सामान्य निर्वाचन मात्रै नभइ धेरै कुरालाई टुंगो लगाउने र दिशानिर्देश गर्ने निर्वाचन भएको बताए । देशको अहिलेको आवश्यकता स्थिरता र स्थायित्व भएको भन्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा मुलुक बनाउने पार्टी एमालेले जित्नुपर्छ की अस्थिरता ल्याउनेले जित्ने भन्ने फैसला जनताले गर्नुपर्ने बताए ।