पेट्रोल जस्तै बालुवाको पनि संकट आउँदै छ : राष्ट्रसंघ

padma

काठमाडौँ – हामीले केही समययता पेट्रोलियम पदार्थको स‌ंकट भोगिरहेका छौँ। पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै छ। रूस-युक्रेन युद्ध चर्किएपछि त पेट्रोलियम पदार्थको मूल्य झनै अकाशिएको छ। पेट्रोलियम अभाव देखाउँदै सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

यो त भयो पेट्रोलियम संकटको कुरा। योसँगै संसारभरि नै कतै ऊर्जा संकट उत्पन्न भएको छ त कतै खाद्यान्न संकट सुरसाको मुखजस्तै भएर समस्या भएको छ। तर यी संकटसँगै विश्वले अब चाँडै नै अर्को एउटा अविश्वसनीय तर भयावह संकटको पनि सामना गर्नुपर्ने चेतावनी संयुक्त्त राष्ट्रसंघले दिएको छ।

हामीमध्ये कतिपयलाई यो आउन लागेको संकटमाथि विश्वास नलाग्न सक्छ तर पत्याउनुस् नपत्याउनुस् आगामी दिनमा विश्वले बालुवा संकटको पनि सामना गर्नुपर्ने चेतावनी राष्ट्रसंघले दिएको हो।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (युनाइटेड नेशन्स इन्भायरन्मन्ट प्रोग्राम- यूएनईपी) ले बालुवाको अत्यधिक उपयोगबारे चेतावनी दिएको छ।

संसारभरि नै व्यापक रूपमा उत्खनन गरिने ठोस पदार्थ हो- बालुवा। यो विश्वभरि नै पानीपछि दोस्रो सबैभन्दा धेरै प्रयोग हुने विश्वव्यापी प्राकृतिक स्रोत हो। बालुवाको प्रयोग सबैतिर अनियन्त्रित तवरबाट भइरहेको छ।

संसारका अधिकांश देशमा बालुवा ठूलो परिमाणमा उत्खनन गरिन्छ र मुख्यतया सानादेखि गगनचुम्बी भवन निर्माणमा प्रयोग गरिन्छ। यतिमात्र होइन‚ बालुवा संसारमा सबैभन्दा बढी प्रयोग हुने सामग्री हो। पक्की पर्खाल बनाउन होस् वा सिसा, सबै काममा बालुवा प्रयोग गरिन्छ।

यसको सीधा तात्पर्य के हो भने हजारौं वर्षको भूवैज्ञानिक प्रक्रियापछि बल्ल तयार हुने बालुवाको हामी अत्यधिक उपयोग गर्दै छौं। बालुवा बन्न लाग्ने समयको तुलनामा हामी केही दशक वा शतकमा नै यसको अत्यधिक उपयोग गरिरहेका छौं र पृथ्वीमा बालुवाको मात्रा सकिन लागेको छ।

Shikhar Dental

अहिले हाम्रो देशमा मात्र नभएर विश्वतरि नै बालुवाखानीबाट जथाभावी ठूलो मात्रामा गिटीबालुवा निकाल्ने गरिएको छ। यसको अनुगमन‚ नियमन गर्ने कुनै संस्था वा निकाय नै छैनन्। जथाभावी बालुवा निकाल्दा नदी र खोला भासिएका छन्।

प्रभावकारी प्रशासनबिना बालुवाजन्य स्रोतले हाम्रा आवश्यकता धान्न नसक्ने अवस्थामा पुगिसकेको चेतावनी यूएनईपीले दिइसकेको छ। यो संकट टार्न अहिले नै रोकथामका केही गतिला काम नगरे संसारभरिका देशले बालुवा संकटको सामना गर्नैपर्ने अवश्यम्भावी रहेको उसले जनाएको छ।

बालुवा‚ कंक्रिट र अन्य निर्माण सामग्रीको विश्वव्यापी खपत गएका दुई दशकमा ३ गुणा बढेर वार्षिक ५० अर्ब टन वा प्रतिव्यक्ति दैनिक १७ किलोग्राम पुगेको यूएनईपीको प्रतिवेदनमा उल्लेख छ। बालुवाको यस्तो भयावह गतिमा भइरहेको उत्खनन र प्रयोगले नदीहरू र समुद्र तटहरूलाई अपूरणीय क्षति पुर्‍याइरहेको छ। साथै स-साना टापुहरू नष्ट हुँदै छन्।

दक्षिणपूर्वी एशियाको सबैभन्दा लामो नदी मेकोङमा बालुवा निकासीले टापुहरू डुब्न थालेका छन्। यसले गर्दा नदी किनारको उर्वर भूमिसमेत रुखो बन्दै गएको छ। मेकोङ भियतनाम‚ थाइल्याण्ड‚ लाओस‚ चीन‚ कम्बोडिया र म्यान्मा हुँदै बग्छ।

यसैगरी श्रीलंकामा एउटा नदीबाट अत्यधिक मात्रामा बालुवा झिक्नाले त्यो नदीको पानी उल्टो बग्न थालेको थियो। अर्थात् नदीको पानी बगेर समुद्रमा मिसिनुको साटो समुद्रको नुनिलो पानी नदी हुँदै श्रीलंकाको भूमितिर बग्न थालेको थियो। यसरी अत्यधिक बालुवा उत्खननले श्रीलंकामा भीषण भूस्खलन र पहिरो जान थालेको छ।

बालुवाको बढ्दो उपभोगसँगै नदी किनार र समुद्री तटबाट बालुवा उत्खनन पनि तीव्र गतिमा बढेको छ। यसले गम्भीर वातावरणीय संकट निम्त्याउन थालेको छ।

बालुवा हाम्रो वातावरणको निकै महत्त्वपूर्ण तत्त्व हो। यसले कैयौँ प्रजातिका जीव/प्राणिका लागि आश्रयस्थल वा वासस्थानका रूपमा काम गर्दछ र तिनीहरूलाई सामुद्रिक आँधीबेहरी आदिबाट जोगाउँछ।

बालुवाको जथाभावी उपयोगले संवेदनशील पर्यावरणीय क्षेत्रहरूलाई जोखिममा मात्र पार्दैन‚ जैविक विविधता मासिने गति तीव्र पार्छ जसले अन्ततः जैविक विविधताको आयु छोट्याइदिन्छ।

साभार

Nawadurga
Leave A Reply

Your email address will not be published.