काठमाडौं – वैशाख ३० गते हुने मतदानका लागि निर्वाचन आयोगले जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ।
स्थानीय तह-को निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउनेछन्। देशभरका ७५३ वटै पालिकाका लागि २ करोड ७ लाख ४ हजार मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
उनले योपटक आयोगले अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका कारण ५३ पालिकाका मतपत्र पुनः छपाइ गर्नु परेकाले मतपत्र अझ बढी हुनु स्वाभाविक भएको बताए।
आयोगले ती पालिकाका लागि १३ लाख ४ हजार मतपत्र पुनः छपाइ गरेको थियो।
उनले प्रत्येक मतदानस्थलमा जम्मा मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र पठाउने प्रावधान रहेको छ। ‘कुनै मतदान केन्द्रको निर्वाचन स्थगन गर्नु पर्यो र पुनः मतदान गर्नुपर्यो भने पहिलेको मतपत्र काम लाग्दैन।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन यस्तो प्रावधान राखिएको आयोगले जनाएको छ। बढी भएका मतपत्र छपाइ मुख्य निर्वाचन कार्यलयमा सुरक्षित रूपमा राखिने भएकाले दुरुपयोग नहुने उनको दाबी छ। मतदान सकिएपछि बढी भएको मतपत्र धुल्याउने (नष्ट गर्ने) आयोगले जनाएको छ। आयोगले सबै जिल्लामा आवश्यक पर्ने मतपत्र पठाइसकेको छ।