अन्य दलका झण्डा र चिह्न प्रयोग नगर्न आयोगको आग्रह
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारलाई अन्य दलको चिह्न र झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै निकालेर कतिपय उम्मेदवारले चुनावी प्रचारका क्रममा आफूले उम्मेदवारी दिएको दलबाहेक अन्य दलको झण्डा प्रयोग गरेको उजुरी परेको जानकारी दिए।
यस विषयमा आयोगले ध्यानाकर्षण भएको जनाउँदै चुनावी प्रचारका क्रममा निर्वाचन आचारसंहिता प्रतिकूल झण्डा र चिह्न प्रयोग नगर्न भनेको हो। आचारसंहिताविपरीत झण्डा र चुनावी चिह्न प्रयोग तथा मतदातालाई भ्रम सिर्जना गरी आफू उम्मेदवार भएको दल बाहेकका झण्डा प्रयोग गर्नु आचारसंहिता विपरीत भएको आयोगले जनाएको छ।
चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने आयोगका प्रवक्ता पौडेलले बताए।
आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झण्डा वा चुनाव चिह्न प्रयोग गरेमा कारबाही गरिने आयोगले जनाएको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षणको व्यवस्था गरेको स्मरण गराएको छ। साथै निर्वाचन आचार संहिता, २०७८ अनुसार ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचारप्रसार गर्ने उदेश्यले कुनै पनि किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लु साइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था रहेको पनि पुनः स्मरण गराएको छ।