काठमाडौँ – लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहोर मङ्गलबारदेखि उठाइने भएको छ । काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूसँग सोमबार साँझ सहमति भएअनुसार भोलिदेखि फोहोर उठ्ने भएको हो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले स्थानीयवासीका माग तथा सर्त पूरा गर्नेगरी फोहोर व्यवस्थापनमा सहमति जुटाएको हो । जसअनुसार भोलिदेखि असार मसान्तसम्म हालकै अवस्थामा फोहोर उठाइने र साउन लागेपछि भने स्रोतमै छुट्ट्याउनुपर्नेछ ।