कैलाली – कैलालीमा जिल्ला समुन्वय समितिको निर्वाचन सुरु भएको छ । १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ ।
जिससको नेतृत्वका लागि कैलालीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ । कैलालीमा काँग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ भने एमाले र उन्मुक्ति पार्टी मिल्दा १२ मत पाइने स्थिति छ । तर, कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगले मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुने गरी आइतबार मात्रै निर्देशनसहितको पत्र पठाएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय भ्रष्टाचार मुद्दामा छानबिनको सूचीमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा नराख्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो । अख्तियारको पत्रका आधारमा निर्वाचन आयोगले मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायलाई मुद्दा किनारा नलाग्नसम्म निलम्बनमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा काम गर्न नदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
उपाध्याय निलम्बनमा परेसँगै कैलालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मतभार १२ हुने छ । उता नागरिक उन्मुक्ति पार्टी र एमालेको मतभार पनि १२ नै रहेको छ । यस्तो अवस्थामा कैलालीमा स्वतन्त्र रूपमा निर्वाचन जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल निर्णायक बन्ने देखिएका छन् ।