टिकापुरको नदी तटीय क्षेत्रमा कटानको जोखिम

padma

टीकापुर – अघिल्लो वर्ष बाढीमा परेका कैलालीका नागरिकलाई यस वर्ष मनसुन नजिकिएसँगै त्रसित बनेका छन् । टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक नदी नियन्त्रणको काममा भइरहेको ढिलाइका कारण त्रासमा बाँचिरहेका छन् । वर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ ।

कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टिकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । शाहीपुरमा यस वर्ष ६० प्रतिशत तटबन्धको काम सकिएका कारण केही राहत मिल्ने स्थानीयवासी बताउँछन् । रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ । कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ ।

टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विगत वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकपाुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्शनले काम सम्पन्न गर्न सकेको छैन । अहिलेसम्म ५० प्रतिशत मात्र काम गरेको बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद ले बताए ।

“समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उनले भने, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । हुलाकी सडकको कामले तीव्रता पाएको भए तल्लो क्षेत्र जोगिने थियो ।”

Shikhar Dental

कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । भङ्गालाबाट बस्तीमा बाढी पस्ने खतरा कायमै रहेको साउदको भनाइ छ । बाढी र कटानले गत वर्ष सयौँ बिघा जमिनमा लगाएको धानबाली नष्ट गरेको थियो । खेती स्याहार्ने बेला गत वर्ष कात्तिक २ गते आएको बाढीले धान नष्ट भएका किसान यस वर्ष वर्षा नजिकिएपछि तनावमा छन् ।

गत वर्ष बाढीबाट खेती गुमाएका किसानले यस वर्ष करिब १५० बिघा जमिनमा धान छरेका छन् । बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका श्यामलाल चौधरीले बताए । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धानखेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उनले भने, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु बाढीको भर छैन ।”

चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् । टीकापुर–८ का अधिकांश किसानले धान छरिसकेका छन् । कैलालीमा सिँचाइ सुविधा र नदी नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अहिलेसम्म कर्णाली नदीमा २६ किलोमिटर तटबन्धको काम गरेको छ । आयोजनाले अहिले चार ठाउँमा साढे दुई किलोमिटर तटबन्ध निर्माण गरिरहेको छ । यसका साथै वर्षात्मा भङ्गालो भएर, पानी सहतमाथि आएर जोखिम हुनसक्ने केही ठाउँमा तत्काल नियन्त्रणको कामका लागि बोलपत्र आह्वान गरेको छ ।

आयोजनाका सूचना अधिकारी प्रेम लासिवा तटबन्धको काम सुरु गर्दा नदी बर्दियातर्फ बगिरहेको र अहिले कैलालीतर्फ फैलिएकाले समस्या भइरहेको बताए । “आयोजनाले तटबन्धको काम सुरु गर्दा नदी अर्को धार बनाएर बगिरहेको थियो, त्यहीअनुसार योजना बनाएर तटबन्धको काम सुरु भयो”, उनले भने, “अहिले नदी अर्कोतर्फ बगिरहेको छ । यसले समस्या भएको छ । आयोजनाले आवश्यक भएका ठाउँमा तटबन्धको काम गर्दै आएको छ ।”

स्थानीय तहले जोखिम ख्याल नगरी गरेको ढुङ्गा र बालुवा उत्खननका कारण बस्ती असुरक्षित भएको र हाल तबटन्ध गर्दा ठूला ढुङ्गाको प्रयोग गरेर गर्न थालिएको छ । “हामी बर्सेनि तटबन्ध बढाउँदै लगेका छौँ तर स्थानीय तहले ठेक्का दिएर जथाभावी उत्खनन गराइरहेका छन्”, उनले भने,“अनावश्यक उत्खननले बस्ती जोखिममा परिरहेका छन् ।” आयोजनाले तटबन्ध निर्माणमा ढिलाइ गर्ने सिद्धीसाइ कन्स्ट्रक्शनलाई कालोसूचीमा राख्न विभागलाई पत्राचार गरेको छ । अन्य निर्माण कम्पनीलाई पनि समयमै काम सक्न ताकेता गरेको आयोजनाले जनाएको छ ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.