अमेरिकाले कोरोना विरुद्धको २२ लाख बाल-खोप सहयोग गर्ने

काठमाडौं – कोभिड-१९ विरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित यी खोप अत्यन्त प्रभावकारी, जीवनरक्षक रहेको अमेरिकी दूतावासले जनाएको छ। हालसम्म अमेरिकाले नेपाललाई २२ लाख ६० हजार डोज फाइजर र १५ लाख डोज जोन्सन एन्ड जोन्सन (एकल डोज लगाए पुग्ने) खोप सहयोग गरिसकेको छ।

अमेरिका र नेपालबीच ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान स्वरूप खोप सहयोग गर्न लागेको दूतावासले जनाएको छ। “कोभिड-१९ महामारीको शुरूआतदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू न्यूनीकरण गर्न नेपाललाई अमेरिकाले मद्दत गर्दै आएको छ,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले खोप लगाउने विषयमा ५६ जिल्लामा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीलाई प्रशिक्षण प्रदान गर्न नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो।
विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशलाई एक अर्ब १० करोडभन्दा बढी कोभिड-१९ खोपको अनुदान प्रदान गर्ने वाचा गरेको छ। यसमध्ये ५० करोडभन्दा बढी डोज उपलब्ध गराइसकेको छ। चार अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठूलो द्विपक्षीय दाता पनि हो।
