काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ। शुक्रबार अपराह्न ३ बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ।

उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललाई उठाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।


भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन्। यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्।
भुसाल यसअघि उपसभामुखमा पराजित भएकी थिइन्। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा.शिवमाया तुम्बाहाङ्फे निर्वाचित भएकी थिइन्। अर्की उम्मेदवार भट्टराई भने उपनिर्वाचन २०७६ मा कास्की–२ बाट निर्वाचित भएकी हुन्।
