जापान भ्रमणमा निस्किए प्रचण्ड

Image

काठमाडौँ – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति पाँच दिन लामो जापान भ्रमणमा गएका छन्।

नेपाली जनप्रगतिशील मन्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड सचिवालयका तीन सदस्यसहित शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानबाट जापानतर्फ लागेका हुन्।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल र गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।

उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन्। त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन्। उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ।

प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन्। त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ।