धनगढी – कैलालीमा वैशाख ३० गतेयता ११ हजार चार सय ३० नयाँ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनको समयमा कैलालीका मतदाताको संख्या ५ लाख २५ हजार एक सय २५ थियो।
जिल्लामा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदानस्थल सारिएका छन्। अब मंसिर ४ गते हुने निर्वाचनको तयारीमा आयोग रहेको प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले बताए। ‘कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र छन्। पाँच प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ,’ उनले भने। नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको हो।
साउन १९ गतेबाट मतदाता नामावलीमा नाम दर्ता, विवाह दर्ता र बसाइसराइको काम बन्द गरिएको छ। अब निर्वाचन केन्द्रीत दल दर्ताका लागि आयोगले आइतबारबाट आह्वान गरेको भट्टले बताए। निर्वाचन कार्यालयले आवश्यक सामग्रीको आँकलन, व्यवस्थापन तथा पुराना सामग्रीको तथ्यांक अध्यावधिकको काम गर्न थालेको छ। निर्वाचन आयोग कार्यतालिका बनाएर मंसिर ४ को निर्वाचतको तयारीमा जुटेको प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख भट्टले बताए।
एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल हुनेछन्। जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरुका उम्मेदवारहरु हुनेछन्। तर सत्तारुद दलले गठबन्धन गरेकाले उम्मेदवारको संख्या कम हुने देखिएको आंकलन गरिएको छ।