देउवाका प्रतिस्पर्धी खगराजले डडेलधुरा छाडेर कञ्चनपुरबाट चुनाव लड्ने!

Image

कञ्चनपुर – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।

गठबन्धनबाट देउवा डडेल्धुरा चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारी गरेका छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिमका नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्‍मा ल्याउने बताएका थिए । ‘

माओवादी नेता भट्टले समेत देउवाको आशय बुझेरै कञ्चनपुर २ बाटै चुनाव लड्ने गरी गृहकार्य थालेका छन् । पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए । त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए ।

दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो । देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए । २०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती दिएका थिए । तर, जित भएन। मतान्तरमा पनि सुधार आउन सकेन । स्थानीय तहको पार्टीगत मतलाई मूल्याङ्कन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो । तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए ।