
मन्त्री कार्कीविरुद्ध नाराबाजीकाे भिडियाे पाँच महिना पुरानाे


केही दिनयता एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा सूचना तथा सञ्चार एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भीडकाे बीचमा देखिन्छन् । उनले केेसरी रंगको कुर्थामाथि कालो इस्टकोट लगाएका छन् भने उनकाे घाँटीमा सेतो गम्छा छ । उनले कालाे चस्मा लगाएका छन् । भिडियोमा कार्कीविरुद्ध “मुर्दावाद”, “एमसीसी चाहिँदैन” लगायत नारा लागिरहेको सुन्न सकिन्छ ।
गत असाेज ३० गते सुरेश भण्डारी नामक ट्वीटर प्रयोगकर्ताले “मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उनकै निर्वाचन क्षेत्रबाट जनताले यसरी भगाएछ्न्” भन्दै उक्त भिडियो सेयर गरेका थिए । यो तथ्यजाँच तयार पार्दासम्म साे भिडियाे ११ हजार ९ सय पटक हेरिएको छ भने ३ सय ६५ जनाले लाइक गरेका छन् । साथै सो पाेस्ट ६६ पटक रि-ट्वीट भएको छ।

यही भिडियो फेसबुकमा पनि केही दिनदेखि फैलिरहेको छ। राजेन्द्र राउत नामक फेसबुक प्रयोगकर्ताले पोस्ट गरेको भिडियो १ हजारभन्दा बढी पटक हेरिएको छ। भिडियो भएकाले फेसबुक वाचबाट धेरै प्रयोगकर्तामाझ यो भिडियो फैलिन सक्ने देखिन्छ।
संघीय र प्रदेशकाे चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन् । यो भिडियो अहिलेकाे हो कि होइन भनी नेपाल चेकले तथ्यजाँच गरेकाे छ।
हामीले यो भिडियोका विषयसँग सम्बन्धित शब्दहरू राखी सामाजिक सञ्जाल र गुगलमा सर्च गर्यौं । गत स्थानीय निर्वाचनको समयमा खिचिएको एक भिडियो हामीले फेला पार्यौं। इन्द्र क्षेत्री नामक फेसबुक प्रयोगकर्ताले उक्त भिडियो वैशाख ३० गते पोस्ट गरेको देखिन्छ [स्क्रिनसट]। फेसबुकमा सेयर गरिएको र ट्वीटरमा हालै सार्वजनिक भएको भिडियोको अध्ययन गर्दा दुइटै भिडियो एकै भएकाे निष्कर्षमा हामी पुग्याैं।

फेसबुक प्रयोगकर्ता इन्द्र क्षेत्रीले वैशाख ३० मा सेयर गरेकाे भिडियोमा मन्त्री कार्की मतदान गर्न जाँदा नाराबाजी भएको दाबी थियो। हामी सो कुराको पुष्टि गर्न गुगलमा सम्बन्धित शब्द राखी सर्च गर्यौं । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा मतदानका लागि जाँदै गर्दा नाराबाजी भएको पुष्टि सोही दिन थाहा खबरले प्रकाशित समाचारबाट भयाे । समाचारका अनुसार मन्त्री कार्की आफ्नाे मत दिन सुनसरी जिल्लाकाे बराह क्षेत्र नगरपालिका गएका बेला युवाहरूले नाराबाजी गरेका थिए । केहीबेर तनाव भएपछि कार्कीले मतदान गरेको समाचारमा जनाइएकाे छ। साथै खबरहब अनलाइनको “दिनभर आज” कार्यक्रमले पनि सो कुरालाई पुष्टि गर्दछ।
तसर्थ, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध नाराबाजी भएको भिडियो गत स्थानीय तहको निर्वाचनको दिन हो, मंसिर ४ गते हुने चुनावकाे प्रचारप्रसारकाे होइन।
https://np.nepalcheck.org/ बाट साभार गरीएको
