

अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायरले गठबन्धनको सरकार आएको ६ महिनाभित्र गोदावरीमा राजधानीको भोगाधिकार ल्याउने बताएका छन् । शुक्रबार कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा आयोजित वडाभेलालाई सम्बोधन गर्दै बलायरले संसदबाट दुइ तिहाईले पास भईसकेको हुँदा राजधानी गोदावरीबाट अन्त जानै नसक्ने बताए ।
केहि व्यत्तिले विर बहादुरले जिते राजधानी डोटी लैजान्छ भन्ने भ्रम फैलाईरहेका छन्, वडाभेलामा बोल्दै बलायरले भने “संसदबाट दुई तिहाईले पास भएको हो,हिजो डोटीबाट राजधानी धनगढी सर्दा म मन्त्री नै थिए मैले रोक्न सकेन त , दुई तिहाईले पास गरेको राजधानी बनाउनु छैन, बनाउन सक्ने क्षमता छैन, राजधानीका बारेमा चिन्ता छैन, राजधानीको लालपुर्जा ल्याउन सक्नु छैन, अब जनताका लालपुर्जा दिन्छन तिनले ?” राजधानीको पहिलो प्रक्रिया भोगाधिकार भएको हुँदा गठबन्धनको सरकार आएको ६ महिनाभित्र गोदावरीमा राजधानीको भोगाधिकार ल्याउने उनले दावी गरे ।
बलायरले देश र जनताकालागी गठबन्धन गर्नुपरेको र त्यो अवस्था आफुहरुले नभइ एमाले अध्यक्ष ओलीले नै सिर्जना गरेको बताए । उनले चौकीडाँडा–फल्टुडे फास्ट ट्रयाक र खैरालाको सडक आफ्नो पहिलो प्राथमिकतामा रहने बताएका छन् ।
