अत्तरिया – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले मंसिर ४ गते हाम्रा उम्मेदवारलाई जिताउनुस् भनेर मात्रै भोट माग्न नआएको र मंसिर ४ गते गठबन्धनको माध्यमबाट आन्दोलनको मोर्चामा रहेको बताएका छन् ।
गोदावरी नगरपालिकाको वडा नम्बर ३ स्थित मालाखेतीमा भएको विशाल आमसभामा उनले आफूहरु मोर्चालाई संगठीत गरेर शहीदहरुको सपना साकार पार्नका लागि हिजो हाम्रा पुर्खाले लडेर ल्याएको यो व्यवस्थालाई जगेर्ना गरेर नेपाली जनताहरुको सुखी र समृद्ध भाग्यको फैसला गराउनका लागि महासंग्राममा रहेको बताएका हुन् ।
‘मंसिर ४ गते हुन गइरहेको निर्वाचन राजावादी र गणतन्त्रबादीहरु बीचको महासंग्राम हो भन्ने कुरा यहाँहरु सबैले बुझेर गणतन्त्रका पक्षमा हाम्रा उम्मेदवारहरुका पक्षमा मत जाहेर गरी विजयी गराउन हुन आग्रह गर्दछु,’ उनले भने,‘नाताका हिसावले, भाषाका हिसावले तथा विभिन्न प्रलोभनमा परेर प्रतिगामीहरुका कित्तामा मत हाल्यौँ भने हाम्रो बीसौं पुस्ताहरुले पुनः संघर्ष गर्नुपर्ने छ ।’ सबैले अहिलेको आन्दोलनलाई निर्वाचनका माध्यमबाट केपी ओली नेतृत्वको प्रतिगामी शक्तिलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
संविधानको धज्जी उडाउनका लागि प्रतिगामीहरुको एउटा गठबन्धन बनेको बताउँदै उनले भने,‘जसको नेतृत्व केपी ओलीले गरेका छन् ।’ उनले अर्को गठबन्धन मुलुकमा राणा फाल्नका लागि कांग्रेस र कम्युनिष्ट नभनिकन एक सुत्रमा बाँधेर ०७ सालको प्रजातन्त्र जसले स्थापित गरेको स्मरण गराउँदै भने,‘जुन गठबन्धनले कांग्रेस र कम्युनिष्ट नभनिकन ४६ सालमा आन्दोलन गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गरायो र फेरि ६२÷६३ सालको जनआन्दोलनमा कांग्रेस र कम्युनिष्ट नभनिकन राजतन्त्र मुक्त बनायो यो देशलाई ।
जसको भूमिकाका कारण तपाई हामीले आज देशमा लोकतान्त्रिक संविधान पायौंँ, हो त्यही गठबन्धनको नाम हो अग्रगामी गठबन्धन ।’ अग्रगामी गठबन्धनले नै देशमा संविधान बचाउनुका साथै केपी ओली प्रवृत्ति परास्त गर्ने उनले बताए ।