दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। एमाले प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि बिहीबार बेलुकी झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्किदै गर्दा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी प्रचारमा अवरोध गरेपछि झडप भएको हो। प्रहरीले झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका बताएको छ। उनीहरूको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ।
झडपपछि इप्रका लटिनाथबाट खटिएको प्रहरी टोलीले उम्मेदवारको टोलीलाई लटिनाथ पुर्याएको थियो। प्रहरीकै स्कटिङको क्रममा मार्मा गाउँपालिका १ पारिबगर क्षेत्रमा फेरि गठबन्धनका कार्यकर्ताले उम्मेदवार चढेको गाडीमाथि ढुंगा प्रहार गरेको बताइएको छ।