Attariya Hospital Pvt.Ltd.

अवैध आयातले माछा उत्पादक मारमा

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का प्रकाश साउदले तीन बिघामा माछा पालन गरेका छन् । तीन वटा पोखरीमा विभिन्न जातका गरी ५० हजार भुरा हालेका थिए । चैत अन्तिम साता हालेको भुरा एक महिनाअघि नै बिक्री गर्न तयार भइसकेका थिए । तर लगानी अनुसारको मूल्य नै पाइएन । जसका कारण बिक्रीका लागि तयार भएको माछा पनि पोखरीमा छन् ।

भारतबाट अवैध रूपमा भित्रिने माछाका कारण नेपालमा उत्पादित माछाले बजार र मूल्य पाएको छैन । भारतबाट क्वारेन्टाइन परीक्षणका आधारमा मात्रै माछा आयात गर्न पाइन्छ । तर खुल्ला सिमानाका कारण अवैध रूपमा भित्रिने गरेका कारण नेपालमा उत्पादित माछाले लागतअनुसारको मूल्य नपाउने गरेको कृषकहरू बताउँछन् । ‘हाम्रो लागत नै बढी हुन्छ, भारतबाट अवैध रूपमा भित्रिएको माछासँग प्रतिस्पर्धा गर्न सकिँदैन,’ साउदले भने, ‘बिक्रीका लागि तयार भएको माछा मूल्य नपाएर पोखरीमै छ, थप लगानी बढ्दै छ ।’ उनका अनुसार अहिले भारतबाट आयात भएको माछा बजारमा २ सयदेखि २२५ सम्म प्रतिकिलोग्राममा बिक्री भइरहेको छ ।

 

Siddi ganesh

उक्त मूल्यमा यहाँ उत्पादित माछा बिक्री गर्दा घाटा हुन्छ । यहाँ उत्पादित माछाको मूल्य ३ सय प्रतिकिलोका हाराहारी रहेको छ । साउदले चैतमा ५० हजार भुरा हालेका थिए । अहिले कम्तीमा १ सय क्विन्टल माछा उत्पादन हुने अनुमान गरिएको छ । भुरा र चारामा १५ लाख बढी खर्च भएको उनले बताए । भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री हुन नसकेको उनले बताए । माछा ठूलो भएपछि आहारा बढी चाहिने भएकाले लगानी थप बढ्दै गएको छ ।

 

सोमबार कञ्चनपुरमा माछा उत्पादक कृषकहरूले अवैध रूपमा भित्रिने भारतीय माछामा रोक लगाउनुका साथै बजार अनुगमनका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । अवैध रूपमा भित्रिएको विषादीयुक्त माछाका कारण एकातर्फ यहाँ माछा उत्पादक कृषक धराशायी हुने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ जनस्वास्थ्यमा समेत असर परिरहेकाले यसतर्फ ध्यान दिन कृषकहरूले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । ‘भारतीय माछासँग हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौं,’ मत्स्य व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष हरिराम चौधरीले भने, ‘भुरादेखि चारासम्म हरेक वस्तु यहाँको तुलनामा भारतमा आधाभन्दा सस्तो हुन्छ, अनि हामीले कसरी प्रतिस्पर्धा गर्ने ?’ उनका अनुसार भारतमा भुरा प्रतिगोटा १ देखि २ रुपैयाँमा पाइन्छ । यसैगरी चारा ३०/४० रुपैँया प्रतिकिलोमा पाइन्छ । नेपालमा भुरा १४/१५ र चारा १ सय २० सम्म प्रतिकिलो खर्च हुन्छ ।

 

चौधरीले १५ बिघामा माछा पालन गरेका छन् । उनको पोखरीमा अहिले ६ सय क्विन्टल माछा बिक्रीका लागि तयार छ । तर लगानीअनुसारको मूल्य नपाएर बिक्री हुन नसकेको उनले बताए । ‘माछा उत्पादक कृषकहरू पलायन हुने अवस्था आएको छ,’ भीमदत्त नगरपालिका १५ का माछा उत्पादक कृषक नरेन्द्र भट्टले भने ।

कञ्चनपुरमा २ सयभन्दा बढी माछा उत्पादक कृषक छन् । प्रायः कृषकहरूले फागुन चैतमा भुरा छाड्ने र असोज कात्तिकदेखि बिक्री सुरु गर्छन् । जिल्लाका विभिन्न अवैध नाकाहरूबाट खुलेआम भारतीय माछा भित्रिने गरेका कारण समस्या भएको हो । पोखरी वा जलाशयबाट निकालेको लामो समयसम्म फर्मालिन प्रयोग गरेर भारतबाट ल्याइने भएकाले त्यसको परीक्षणसमेत नहुने गरेको व्यवसायीहरू बताउँछन् ।
कान्तिपुरबाट
Nawadurga
Leave A Reply

Your email address will not be published.