

धनगढी – बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीकी हिरासतमा रहे।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।

चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। क्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र बिर बहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरुले चालक साजन चौधरीलाई कुटपिट गरी स्थानीय महादेव बजगाइको ट्याक्टरमा आगजनी गरेका थिए ।
उक्त विषयमा जाहेरी परेपछि उनीहरु तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए। तीनै जना प्रतिवादीहरुका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ।
२०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरुले ट्र्याक्टरमा आगजनी गरेका थिए।
अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन। सोही फैसला कार्यान्वयनको निम्ति चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
