कञ्चनपुर – पछिल्लो समय नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दो क्रममा देखिएको छ। बच्चालाई स्वस्थ बनाउन जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्छ।
रोजगारीलगायतका विभिन्न व्यस्तताले बच्चालाई ६ महिनासम्म पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको हो। राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ र सुआहाराको तथ्यांकअनुसार ६ महिनासम्म आमाको दूध मात्रै खाएका शिशुको सङ्ख्या सन् २०१६ देखि हालसम्मको तुलनामा १० प्रतिशतले घटेको छ।
राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पूर्ण स्तनपान गराउने सङ्ख्या २०१७ मा ६८ प्रतिशत, २०१८ मा ६९ प्रतिशत, २०१९ मा ७५ प्रतिशत रहेको थियो तर २०२२ मा पुग्दा यो सङ्ख्या घटेर ६७ प्रतिशत पुगेको छ। त्यसैगरी सुहाराको तथ्यांक अनुसार २०१७ मा ६३ प्रतिशत, २०१८ मा ६६ प्रतिशत, २०१९ मा ६९ प्रतिशत र २०२२ मा पुग्दा घटेर ५७ प्रतिशत पुगेको छ।
तथ्यकंअनुसार एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या पनि ८ प्रतिशतले घटेको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ३२ प्रतिशत रहेको छ। आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिल जोशीले बताए।
उनले आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने बताए। उनका अनुसार पूर्ण स्तनपान नहुँदा बालबालिकामा बिरामी भइरहने, शारीरिक तन्दुरुस्ती नहुने, कुपोषणजस्ता समस्या देखिने गर्दछन्। ‘आमाको दूध पर्याप्त नहुँदा पुड्कोपन, ख्याउटेपन, कम तौल, अधिक तौल र रक्तअल्पता हुने सम्भावना रहन्छ’, उनले भने, ‘आमाको दूधले खोपको समेत काम गर्छ।’
पूर्ण स्तनपान नपुगेको बच्चालाई सन्तुलित पोषणयुक्त खानपानले केही सघाउ पु¥याए पनि आमाको शरीरमा बनेको प्राकृतिक दूधले दिने प्रतिरोधात्मक क्षमता अन्य दूधमा उपलब्ध नहुने उनले बताए। ‘पाँच वर्षमुनिका बालबालिकालाई जंक फुड खाने गरेको पाइन्छ’, उनले भने, ‘बाहिरको जङ्क फुड भन्दा घरमै कोदाको लिटो, गेडागुडीको लिटो खुवाउने र हरियो सागपात खुवाउनुपर्छ।’
उनी दैनिक चार प्रकारका खाना खानुपर्ने बताउँछन्। ‘खानामा अन्न, गेडागुडी, फलफूल आदी हुनुपर्छ’, जोशीले भने, ‘यिबाहेक माछामासु लगायतका खानाले भिटामिन उपलब्ध हुन्छ।’ उनले पोषणयुक्त खानेकुरा नहुँदा पुट्कोपना हुने बताए। ‘अहिले पुड्कोपना हुनेको सङ्ख्या २५ प्रतिशत रहेको छ, यसलाई २०३० सम्ममा १५ प्रतिशत पुगाउने सरकारको लक्ष्य रहेको छ’, उनले भने, ‘ख्याउटेपना हुनेको सङ्ख्या पनि २०३० सम्ममा चार प्रतिशतमा पुगाउने लक्ष्य छ।’
उनकाअनुसार गाउँमा भन्दा पनि सहरमा यो समस्या बढी देखिन थालेको हो। ‘६ महिनासम्म दैनिक १२ देखी १८ पटकसम्म आमाको दूध खुवाउनुपर्छ’, उनले भने, ‘६ महिनासम्म शिशुले अन्य खानेकुरा नखाने हुँदा हरेक दुई घण्टामा स्तनपान गराउनुपर्छ।’ बालिबालिकालाई पूर्ण रुपमा स्तनपान नगराउँदा उमेर अनुसारको वृद्धि विकास नहुने चिकित्सक बताउँछन्।
महाकाली प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शक्ति यादवले ६ महिनासम्म आमाले बच्चालाई पूर्ण स्तनपान गराउनुपर्ने बताए। ‘विश्व स्वास्थ्य संगठनले पनि आमाको दूध खुवाउनु राम्रो भन्छ, यसमा पर्याप्त पोषण पाइन्छ’, उनले भने, ‘६ महिनासम्म आमाको दूधबाहेक अन्य खानेकुरा खुवाउनुभएन।’ उनले बाहिरको दूध बच्चालाई खुवाउन नहुने बताए।
महिलालाई सार्वजनिकस्थलमा स्तनपान कक्ष नहुँदा समस्या पर्ने गरेको छ। सरकारी तथा गैरसरकारी संस्थामा समेत स्तनपान कक्ष नहुँदा समस्या हुने गरेको सरस्वती भट्ट बताउँछिन्। ‘सार्वजनिकस्थलमा शिशुलाई दूध खुवाउन आमालाई छटपटी हुने र कपडाले छोपेर स्तनपान गराउनुपर्ने बाध्यता हुन्छ’, उनले भनिन्, ‘पर्याप्त सुत्केरी बिदा नहुँदासमेत पूर्ण स्तनपान गराउन सकिएको छैन।’ उनले घरमा पनि काम महिलाले नै गर्नुपर्ने भएका कारण पनि बच्चालाई पर्याप्त स्तनपान गराउन नसकिने गरेको बताइन्।
पछिल्लो समय अधिकांश महिला रोजगारीमा जाने र नभए कुनै न कुनै व्यवसायमा लाग्ने गरेका कारण बच्चालाई पर्याप्त स्तनपान हुन नसकेको कलावती जोशीले बताइन्। ‘रोजगारीमा जानेहरू बिहान जाने गर्छन्, साँझ घरमा आए पनि अन्य काममै व्यस्त हुन्छन्’, उनले भने, ‘घर व्यवहार सञ्चालन गर्नका लागि पनि आमाले बच्चालाई पूर्ण स्तनपान गराउन सकेका छैनन्।’ जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा यो समस्या बढी देखिएको छ। पछिल्लो समय महिला घर बाहिरको काममा व्यस्त हुँदा बच्चालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गएको बताइन्छ।
रासस