

धनगढी – बिहीबार दिउँसो १ बजे बस्ने गरी सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेश सभा सचिव देव बहादुर बोगटीले सभामुखको आदेशानुसार बिहीबार दिउँसो १ बजे बस्ने गरी बुधबार बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए। यसअघि आज (बुधबार) दिउँसो १ बजे बस्ने गरी बैठकको कार्यसूची तय गरिएको थियो।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि बुधबारको बैठक स्थगित गरिएको स्रोतको दाबी छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको हो।
एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का १०, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।
