अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने गरि आज १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् ।
तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । मुख्यमन्त्री रावलले बहुमत पुर्याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।
प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का १०, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।