अत्तरिया – सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रस्ताव सभाबाट बहुमतले अस्वीकृत भएको छ। विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् भने सुदूरपश्चिम सरकार कामचलाउ बनेको छ।
बिहीबार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले सभासमक्ष विश्वासको मत माग्दै प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस गर्दा बहुमतले अस्वीकृत भएको निर्णय सभामुखले सुनाएका थिए।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि दुईपटक सर्दै आएको थियो। मुख्यमन्त्री रावल एकमहिनाअघि सत्ता गठबन्धन दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।