Attariya Hospital Pvt.Ltd.

यति एयरलाइन्स दुर्घटनाकाे भिडियाे भन्दै भाइरल सामग्री गलत

padma
milan sunchadi

काठमाडौंबाट पाेखराका लागि उडेकाे यति एयरलाइन्सको विमान गत माघ १ गते पर्यटकीय सहर पोखरामा दुर्घटनाग्रस्त हुँदा ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो। विगत ३० वर्ष यताकाे ठूलाे दुर्घटना पछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त दुर्घटनाकाे भन्दै पुराना फोटो र भिडियोहरू पाेस्ट गरे।

@kiranstha178 नामक टिकटक प्रयोगकर्ताले माघ २ गते ह्वीलचेयरमा बसेकी एक बालिका नक्कली रगतले लतपतिएको भिडियो क्लिप पोस्ट गरे। साे पाेस्टमा उक्त भिडियाे यति एयरलाइन्सको दुर्घटनामा बाँचेकाहरूकाे भएकाे दाबी थियाे । साेही पाेस्टमा पाेखरा दुर्घटनासँग असम्बन्धित अर्कै विमान दुर्घटनाको भिडियाे क्लिप पनि सेयर गरिएकाे छ। उक्त पाेस्टमा ‘मरेर गए नि नताेडिने बन्धन माया हाे’ बाेलकाे लोकप्रिय नेपाली गीत समेटिएको छ । पोस्ट १३ हजारभन्दा बढी पटक हेरिएको छ।

अर्का टिकटक प्रयोगकर्ता, @krlkbrhrdvrv ले पनि साेही भिडियो सेयर गरेका छन्। उनले अर्का टिकटक प्रयोगकर्ता @jasmineryan09 को भिडियाे सेयर गरेकाे देखिन्छ । @jasmineryan09 ले उक्त भिडियाे टिकटकमा पहिलाेपटक पाेस्ट गरेकाे देखिन्छ। त्यसैगरी Ashok A Magar नामक फेसबुक प्रयाेगकर्ताले पनि साे भिडियाेसहितका सामग्री माघ २ गते सेयर गरेका थिए (अर्काइभ) ।

Siddi ganesh

नेपाल चेकले पटक पटक साे भिडियोलाई हेर्याे । यसक्रममा त्यसमा देखाइएका दृश्यका आधारमा त्याे फिलिपिन्समा खासगरी क्रिश्चियन धर्मावलम्बीले मनाउने हलाेविन चाडका बेला खिचिएकाे अनुमान गरियाे । उक्त भिडियोका तस्बिरहरू रेडिट नामक सामाजिक सञ्जालमा पनि पोस्ट गरिएको थियो।

नेपाल चेकले भाइरल भिडियो कहाँकाे हाे भनी पत्ता लगाउन सहयोगको आग्रह गर्दै फिलिपिन्समा रहेकाे तथ्य जाँचकी संस्था भेरा फाइल्सलाई सम्पर्क गर्याे।

श्रव्य दृश्य संकेत

टिकटकमा भाइरल भिडियो हटाइएपछि (साे सामग्रीले उक्त प्लेटफर्मकाे सामुदायिक मापदण्डहरूको उल्लङ्घन गरेकाेले हुनसक्छ) हामीले @jasminryan09 ले सामाजिक सञ्जालमा गरेका अन्य पोस्टहरू हेर्यौं। उनले साे भिडियाेकाे विवरणमा हलोविन भनी उल्लेख गरेकाेले हामीलाई त्यसले थप खोजी गर्न मद्दत गर्यो। फेसबुक र टिकटकमा अंग्रेजीमा “हलोवीन लुगा,” “फिलिपिन्स,” “बालबालिका,” फिलिपिनो भाषामा रगत) र “ट्रिक अर ट्रिट” जस्ता शब्द राखी खोजी गर्याैं। यति गर्दा पनि हामीले याे भिडियाे फिलिपिन्सकै हाे भन्ने दरिलाे प्रमाण फेला पार्न सकेनाैँ ।

हामीले @jasminryan09 को टिकटकमा त्यसैबेलाकाे अर्को भिडियो फेला पार्यौं। दाेस्राे भिडियोमा देखिएका बच्चा पहिलाे भिडियाेमा देखिएकासँग मिल्छन् । भिडियो कात्तिक २० गते हलोवीन चाड पछि पोस्ट गरिएको पाइयो । मुल भिडियाेकाे पृष्ठभूमिमा ‘लेफ्ट एण्ड राइट’ भन्ने गित बजिरहेकाे छ। दक्षिण काेरियाली गायक जंगकुकलाई समेटिएकाे अमेरिकी गायक चार्ली पुथकाे साे गीत गत साल असार १० गते सार्वजनिक भएको थियो । यसको अर्थ यो भिडियो सन् २०२२ काे हलोवीनताका खिचिएको हुनसक्ने पाइयाे। सामाजिक सञ्जालमा भाइरल भिडियोमा दुईजना बच्चाकाे शरीरमा रगत जस्तो देखिने रातो र‌ंग पाेतिएको छ। भिडियोमा एकजना बालिका ह्वीलचेयरमा बसेको र अर्को स्ट्रेचरमा सुतिरहेको देखिन्छ ।

भेरा फाइल्सका अनुसार भिडियाेमा देखिएका दुई जनाले फिलिपिन्समा बाेलिने भाषाकाे “pasakay” भन्ने शब्द (जसको अर्थ “म पनि गाडीमा सँगै जान सक्छु?”) प्रयाेग गरेका छन् । यसबाट हामीलाई याे भिडियाे फिलिपिन्समा खिचिएकाे भन्ने थप आधार मिल्याे । यसबाहेक फिलिपिन्समा प्रयाेग हुने जीपनी नामक गाडि पनि भिडियोमा झलक्क देखिएकाे भेरा फाइल्सकाे अध्ययनबाट थाहा भयाे । थप खाेजीमार्फत हामीले @jasminryan09 ले आफ्नाे ठेगाना फिलिपिन्सको राजधानी मनिला नजिकैको भ्यालेन्जुएला शहर उल्लेख गरेकाे फेला पार्यौं।

नेपाल चेकले यी प्रमाण र संकेतका आधारमा भिडियोको जियोलोकेशन अर्थात् इन्टरनेटकाे माध्यमले भाैगाेलिक स्थान पत्ता लगाउने विधिकाे प्रयाेग गरेको छ ।

भिडियो भ्यालेन्जुएला शहरमा खिचिएको हुनसक्छ भनी हामीले माथि नै भनिसक्याैँ। यो पहिलो पटक गत कात्तिक १४ गते पोस्ट गरिएको थियो। हामीले टिकटकमा उपलब्ध @jasminryan09 दोस्रो भिडियोलाई जियोलोकेशन गर्यौं। त्यस क्रममा हामीले भिडियाेमा देखिएकाे मोबाइल फोन पसल, फ्लाइओभर, स्टिलकाे ग्रिल भएको भवन, बिजुलीका तारहरू र गमलालाई आधार बनायाैँ।

हामीले यसलाई विश्लेषण गर्न भिडियाेलाई इनभिड नामक उपकरणकाे सहायताले किफ्रेममा ढाल्याैँ । तिनमा रहेका अक्षर बुझ्नका लागि फाेटाेलाई जुम गर्यौं। हामीले फाेटाेलाई उल्ट्याउँदा “सेलफोन ट्रेडिङ्ग” भन्ने फेला पर्याे । तर शुरुमा हामीले “ट्रेडिङ” शब्द मात्रै पढ्न सक्याैँ।

गुगल म्यापमा हामीले भ्यालेन्जुएला सिटी क्षेत्रमा फोन पसल खोज्यौं । भिडियोमा देखाइएको जस्तै पसल खोज्ने क्रममा हामीले मेट्राे मनिलाकाे कालुकान नजिकै “Jerio Cellphone Trading” नामक पसल नक्सामा भेट्याैँ। भवनहरू, फ्लाइओभर, फूलका गमला र बिजुलीका तारहरूलाई नजिकबाट जाँच गर्दा भिडियोका दृश्यहरू त्यहीँका हुन् पुष्टि भयो।

गुगल स्ट्रिट भ्यु म्यापमा “सेलफोन ट्रेडिङ” भएको साइनबोर्ड फेला पार्न सकिएन । गुगलले गत असारमा उक्त तस्बिर  लिएको थियो। अर्कोतर्फ भिडियो अक्टाेबरकाे अन्त्यतिर मनाइने हलोवीनको समयमा खिचिएको थियाे। गुगलले उक्त दृश्य खिच्दा साइनबोर्ड हटाइएको हुनसक्छ। तर सन् २०१९ काे गुगल म्यापकाे रेकर्ड हेर्दा साे माेबाइल पसलकाे साइनबोर्ड देखिन्छ।

निष्कर्ष

आफ्नाे विवेक र ओपन साेर्स इन्टेलिजेन्स अर्थात् इन्टरनेटमा उपलब्ध उपकरण प्रयाेग गरी याे फिलिपिन्समा खिचिएकाे भिडियाे हाे भन्ने निष्कर्षमा हामी पुग्याैँ । तसर्थ सामाजिक सञ्जालमा भाइरल भिडियाे पाेखरामा माघ १ गते भएको यति एयरलाइन्स विमान दुर्घटनासँग सम्बन्धित नभएकाे निष्कर्ष हामीले निकालेका छाैँ।

https://np.nepalcheck.org/ बाट

Nawadurga
Leave A Reply

Your email address will not be published.