

काठमाडौं – आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।
भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।
