

अत्तरिया- आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ ।
राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार त्यहाँ धुमधामका साथ मनाइने गरिएको छ । किम्बदन्ती अनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवानलाई मार्न खोज्दा पुतना आफैं जलेर मरेकी थिइन् ।
द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको छ । त्यसपछि पुतनालाई कृष्ण र उनका साथीले जलाउँदै उत्सव मनाएका थिए । त्यही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो । यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन । यसलाई बालप्रधान पर्व पनि भन्न सकिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल ! बूढी निकाल ! थुई बूढी थुई !’ भन्ने गर्छन् ।

बूढी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन् ।
