

काठमाडाैं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारण भारी वर्षाको सम्भावना कम भएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने बताइएको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
