
संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गर्दै संविधानलाई सफल बनाउनुपर्छ : एमाले अध्यक्षओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकारलाई स्थापीत गर्दै संविधानको सफल कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा काठमाडौं नक्सालस्थित नारायण चौरमा आयोजित एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गर्दै संविधानलाई सफल बनाउनुपर्ने बताए । उनले मुलुकका उपलब्धीहरूलाई समाप्त पार्ने खालका अभिव्यक्ति र क्रियाकलाप हुने गरेको भन्दै विभाजनकारी प्रवृतिहरूलाई निरुत्साहित पार्नुपर्ने धारणा राखे ।
राष्ट्रिय एकतालाई कमजोर पार्नका लागि जुनसुकै नाममा हुने क्रियाकलापविरुद्ध नेपाली जनता सचेत हुनुपर्ने उनले बताए । अध्यक्ष ओलीले शान्ति सुव्यवस्था,समानता,राष्ट्रिय एकता कायम गरेर राजधानीमा मात्रै नभइ देशभर नै जनस्तरमा संविधान दिवस मनाउनुपर्ने बताए ।

नारायण चौरमा संविधानमा उल्लेख गोपनीयताको हक, शोषण विरुद्धको हक, शिक्षा सम्बन्धी हक, रोजगारीको हक लगायत लेखिएका बोर्डहरू राखिएका थिए । कार्यक्रममा सयौंको संख्यामा आएका नागरिकहरूले नेपाली झण्डाका साथमा सेल्फी खिचाएका थिए ।
