प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली धनगढीमा

Image

अत्तरिया – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन्। अधिवेशनमा प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आइपुगेका छन्।

अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेको जनाएको छ। दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट एक सय २८ जना प्रतिनिधि चयन भएका आएका छन्। १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधिमात्र छन्।

त्यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ। त्यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ।

कूल प्रतिनिधि संख्यामा एक सय ७८ जना महिला रहेका छन्। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । उनले कन्चनपुर पुगेर शहिद गोविन्द गौतमको शालिकमा पुष्पगुच्छा पनि चढाएका छन् ।