

अत्तरिया – सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।
