

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेड श्रीपुरले कपडा बैंकको स्थापना गरेको छ । सँस्थाकै भवनमा सञ्चालन गरिएको उत्त कपडा बैंकको शुक्रबार वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले कपडा बैंकको स्थापना साना किसानको रचनात्मक कार्य भएको बताए ।
उनले साना किसान श्रीपुरले बचत र ऋणमा मात्रै सिमित नभई सामाजिक उत्तरदाईत्व पनि बहन गरिरहेको बताए । उनले कपडा बैंकमा आफ्ना तर्फबाट सकिने सहयोगकालागि सधैँ तत्पर रहेको बताए । कार्यक्रममा आफ्नो धनाई राख्दै साना किसान कृषि सहकारी सँस्था लिमिटेड श्रीपुरका अध्यक्ष केशव बिनाडीले असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यत्तिलाई थोरै भएपनि सहज होस् भन्ने उदेश्यले कपडा बैंकको स्थापना गरिएको बताए ।
सँस्थालाई बचत तथा ऋणमा मात्रै सिमित नराखी सामाजिक उत्तरदाईत्व पनि पुरा गर्ने उदेश्यकासाथ आफु लागि परेको उनले बताए । पुनः प्रयोग गर्न मिल्ने सबैखाले कपडा सङ्कलन र व्यवस्थापन गरेर असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोचअनुरुप यो योजना ल्याइएको उनले बताए । वडा नम्बर ८ मा मात्रै पनि धेरै परिवार विपन्न रहेको र लुगा समेत किन्न सक्ने अवस्थामा नरहेको भन्दै उनले त्यस्ता व्यत्तिहरुलाई केहि सहज हुने बताए ।

“वडा नम्बर ८ मा मात्रै पनि थुप्रै विपन्न परिवार रहेका छन् उनले भने कतिपयसंग लगाउने लुगा हुदैँन,त्यस्ता व्यत्तिहरुलाई कपडा बैंकबाट कपडा प्रदान गर्नेछौँ ।” निःशुल्क कपडा लिने र निःशुल्क नै दिने भएको हुँदा पुनः प्रयोग गर्न मिल्ने कपडाहरु कपडा बैंकलाई सहयोग गर्न उनले आग्रह गरे । अध्यक्ष बिनाडीले कपडा बैंकलाई आर्थीक सहयोग पनि गर्न सकिने बताए । आर्थीक जुटेमा अक्षयकोष स्थापना गर्ने र सोहिबाट आर्जित ब्याजबाट कपडा खरीद गर्ने आफ्नो उदेश्य रहेको उनको भनाई छ ।
उनले सँस्थाका शेयर सदस्यहरुलाई आयआर्जन हुने खालका कार्यक्रममा जोड्न आफु प्रयासरत रहेको भन्दै आगामी दिनमा पन्चेबाजा कार्यक्रम र सखिया नृत्यको कार्यक्रमलाई पनि अगाडि बढाउने आफ्नो योजना रहेको बताएका छन् । कपडा बैंकबाट असहाय, अशक्त, दैवीकप्रकोप पीडित र विपन्न समुदायका व्यक्तिले लाभ लिन सक्ने जनाइएको छ ।
