

सोमबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सरकारको निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणीहरू भइरहेका छन्।सरकारमै रहेको नेपाली कांग्रेस, प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले यसको विरोध जनाइसकेको छ।
सरकारले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटो हिँडेको बताएका छन्।
सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन गर्न आवश्यक रहेको तर त्यसलाई बन्द गर्ने निर्णय गलत भएको उनको भनाइ छ। यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले अनलाइनखबरसँग भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’
