धनगढीमा ‘आसरा’ सुधार केन्द्र सञ्चालन

Image

धनगढी – कैलालीको धनगढीमा आसरा सुधार केन्द्र आज (बुधवार)देखि सञ्चालनमा आएको छ। लागु औषध दुर्व्यसनीलाई राख्न कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको हो।

नेपाल प्रहरी, श्रीमती संघको निगरानीमा सुधार केन्द्र रहने छ। धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा रहेको भवनसहितका संरचनाहरू प्रहरी श्रीमती संघलाई सुधार केन्द्र सञ्चालनका लागि उपलब्ध गराइएको छ। केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री सहयोग गरेको छ।

नगर प्रमुख गोपाल हमालले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेको बताए। उनले दुर्व्यसनीमा परेका परिवारका सदस्यका कारण घर परिवार तहसनहसन भइरहेको भन्दै सुधार केन्द्र सञ्चालनमा सहयोग गरेको बताए। सुधार केन्द्र सञ्चालनका लागि कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने सम्झौता समेत गरेका छन्।

धनगढीले १० लाख, नगरपालिकाहरूले पाँच/पाँच लाख तथा गाउँपालिकाहरूले तीन/तीन लाखका दरले आसरा सुधार केन्द्र सञ्चालनका लागि प्रहरी श्रीमती संघलाई सहयोग गर्ने सम्झौता छ। उपमहानगरपालिकाले फूलबारीमा रहेको भवनसहितको जग्गा २० वर्षका लागि सुधार केन्द्रलाई उपलब्ध गराएको छ।