काठमाडौँ – ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले प्रदर्शनमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको पुष्टि गरे ।
प्रहरीको गोली लागेर घाइते भएर उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको भनिए पनि प्रहरीले भने त्यसलाई औपचारिक रूपमा जानकारी दिएको छैन । किस्ट अस्पताल स्रोतका अनुसार भने राउतको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो ।
शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए ।
जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।