मोहनापुल-अत्तरिया ६ लेन सडकमा छुट्टै ‘साइकल लेन’ तयार

Image

धनगढी – मोहनापुल-अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रभित्र छुट्टै साइकल लेन तयार भएको छ । साइकल लेनको ट्याक निर्माण विकास निर्माण सेवा कोहलपुरले गरेको हो ।

सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल ट्याक निर्माण गरिएको छ । यसका लागि उपमहानगरपालिकाले २०८० कार्तिक १६ गते दुई महिनाको म्याद राखेर मंसिर १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरेको थियो ।

उपमहानगरको भैपरी आउने पुँजीगत शिर्षकबाट बजेटको रकमान्तर गरेर आधुनिक र सुविधासम्पन्न साइकल लेन बनाउने काम पुरा भएको छ । साइकल लेन बनाउन ४६ लाख ५० हजार बजेटको व्यवस्था गरिएको थियो । ६ लेन सडकको दुबैतिर हरियो कलर लगाएर साइकलको ट्याक निर्माण गरिएको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जियनर एवं सहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख दिजराज भट्टले बताए ।

सडकको दायाँबायाँ प्रिन्ट गर्दै तथा साइकलको तस्वीर बनाएर लेन समेत छुट्याउने काम भएको छ । थर्मप्लाष्टिक नामक पेन्ट उपकरणको सहायताबाट साइकल लेन बनाइएको हो । यस्तो पेन्ट बजबुद र टिकाउ हुने उपमहानगरपालिकाले जनाएको छ । मोहनापुल-अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्र भित्र राखिएका सबै डिभाइडर यस अघि नै हटाइसकिएको छ ।

ती स्थानमा सडकको अवरोध नहुने गरी साइकल लेन बनाइएको हो । यसले सहरी सौन्दर्यता बढ्नुका साथै दुर्घटनामा समेत कमि आउने अपेक्षा उपमहानगरले गरेको छ । धनगढीको ६ लेन सडकमा साइकल लेन बनाउन उपमहानगरको नगरकार्यपालिका बैठकले निणर्य नै गरेर त्यसका लागि बोलपत्र आह्वान गरेको थियो। साइकल लेनमा ठूला तथा अन्य सवारी चलाउन पाइने छैन् ।

साइकलका चित्र भएका लेनमा केबल साइकल मात्र चलाउन पाउने गरी उपमहानगरले युग सुहाउँदो साइकल लेन निर्माण गरेको छ । सुदूरपश्चिममै पहिलो पटक उपमहानगरपालिकाले साइकल लेन बनाएको छ।

यही पौष २१ गते शनिबारका दिन बिहान ८ बजे साइकल लेनको उद्घाटन र जनचेतना मुलक राइड हुने समेत उपमहानगरले जनाएको छ ।