बुटवल – नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।
काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
घाइते २३ जनाको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।