इन्टेग्रीटी आइकन अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित

Image

धनगढी – इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् ।शुक्रबार एक कार्यक्रमका बिच पाँच जना राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव, नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत, प्रतिक राई, मनमैजु माध्यामिक विद्यालय, तारकेश्वर, काठमाण्डौका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत, पद्मनाथ आत्रेय र नारायणी अस्पताल, बीरगञ्जका अस्पताल नर्सिङ निरिक्षक, हेमा थापा रहेका छन् ।

पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन गरिएको थियो ।
सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो ।

जस अन्तरगत, नीरा अधिकारी “Integrity with Inspiration” प्रतिक राई”Integrity with Excellence”, रबिना महर्जन “Integrity with Courage”, पद्मनाथ आत्रेय “Integrity with Humility”, र हेमा थापा”Integrity with Compassion” टाईटलबाट सम्मानित भएका थिए ।

“ईन्टेग्रिटी आईकन २०२३” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै पूर्व सभामुख दमननाथ ढुंगानाले भन्नुभयो, “देशमा जता पनि निरासा छ । यसको प्रमुख कारण पथ प्रदर्शकको भूमिकामा ”हुने राजनीतिक दलले गर्ने भ्रष्टाचार हो र त्यो भ्रष्टाचारलाई कम गर्न सक्ने भनेको असल कर्मचारितन्त्रले मात्र हो । त्यसैले मैले सदाचार कर्मचारीलाई सम्मान गर्ने यो कार्यक्रमको महत्व बढी पाए ।”

यस वर्ष इन्टेग्रिटी आईकनका लागि देशभरीबाट ४ सय ६६ मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आईकन छनौट गरेको हो । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।

यो कार्यक्रम नेपालबाट सुरु भएको हो । अहिले बिश्वका १६ देशमा फैलिएको छ । सदाचार प्रर्बदनमा योगदान पुराउने राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च बनाउदै जवाफदेहिता अभिबृद्धि गर्नका लागि बिगत १० बर्षदेखि अकाउन्टेबिलिटि ल्याव नेपालले हरेक बर्ष इन्टेग्रिटी आईकन सार्बजनिक गर्दै आएको छ ।