नक्कली टिकट ठेली प्रहरीलाई बुझाईयो

Image

अत्तरिया – कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको हो ।

संघको बुधबार विहान बसेको कार्यसमिति बैठकले नक्कली टिकट ठेली प्रहरीलाई बुझाउने निर्णय गरे अनुसार प्रहरीलाई बुझाइएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए ।

उनले २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको बताए ।

प्रहरीलाई बुझाइएका सबै टिकट ठेली दुवै पक्षको रहोबरमा सिल गरेर प्रहरी कार्यालयमा राखिएको संघका महासचिव शंकर खड्काले बताएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार नै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाइएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जिल्ला प्रशासनबाट अनुसन्धानका लागि बुधबार पत्र पुगेको बताए ।