सूचनाको हकका अभियन्ताले गराए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

Image

धनगढी – सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

आम नागरिकले सार्वजनिक संघसंस्थाबाट सहजरुपमा सूचना पाउन सकून् भनेर महासंघको प्रदेश समितिले आफ्नो दोस्रो स्थापना दिवशको अवसर पारेर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीमार्फत् प्रमुख जिल्ला अधिकारीलाई महासंघ प्रदेश समितिले ध्यानाकर्षण पत्र बुझाएको हो ।सूचना मागकर्तालाई सम्मानित व्यवहार हुन नसकेको अवस्थामा सूचनाको हकबाट पछाडि पारिएका अल्पसंख्यक, महिला, सीमान्तकृत, दलित, युवा र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था दयनिय रहेकाले उनीहरुको पहुँच अभिवृद्धि गर्न सम्पूर्ण सार्वजनिक सरोकारका कार्यालयमा सूचना अधिकारी तोक्नु पर्नेलगायतका तीन बुँदे ध्यानाकर्षण प्रदेश समितिले बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै सूचना अधिकारी जोशीले जिल्ला प्रशासन कार्यालयमार्फत् सार्वजनिक सरोकारका कार्यालयमा सूचना अधिकारी तोकिसकेको र बाँकी रहेका ठाउँमा पनि तुरुन्तै सूचना अधिकारी तोक्न परिपत्र गर्ने बताए ।

उनले भने,‘हरेक तीन महिनामा प्रशासन कार्यालयमा सूचना अधिकारीको नियमिति बैठक बस्ने गरेको र त्यो बैठकमा महासंघको पनि उपस्थिति गराउन आफूहरु कटिबद्ध छौँ ।’ ध्यानाकर्षण पत्र बुझाउँदै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले सूचनामा सबको पहुँच पुगाउने उद्धेश्यले स्थापना भएको सूचनाको हकका लागि राष्ट्रिय महासंघ एक विशुद्ध सामाजिक अभियान भएको बताए ।

उनले भने,‘सरकार र आम नागरिक बीचको सूचना सहज लिने दिने वातावरण बनाउन पुलको रुपमा महासंघले काम गरिरहेको छ ।’ जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन सूचनाको हकका लागि राष्ट्रिय महासंघका पदाधिकारी तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो ।