लम्बिँदै एमाले कैलाली अधिवेशन

Image

कैलाली – कैलालीको सुखडमा जारी एमालेको नवौँ जिल्ला अधिवेशन लम्बिँदै गएको छ । जिल्लाध्यक्षमा सहमति गर्ने नाममा महाधिवेशन लम्बिँदै गएको हो ।

जिल्ला अधिवेशनमा अझैसम्म पनि सहमतिका लागि प्रयास जारी गरेको एमाले नेताहरूले दाबी गरिरहेका छन् । आइतबार अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

एमाले पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिको अधिकतम प्रयास भइरहेकाले समय लागेको प्रतिक्रिया दिए । ठगुन्नाले सहमतिको प्रयास गर्ने नभएर भोली बिहान सम्म निर्वाचन गर्ने गरि तयारी भइरहेको बताए ।

एमाले कैलालीको जिल्ला अधिवेशनमा आकाङ्क्षीहरूको लर्को लागेको छ । पाँच पदाधिकारीमा ५३ जनाले दाबी गरेका छन् । सहमतिमा जिल्लाको नेतृत्व चयन गर्ने भन्दै ३ फागुनमा अध्यक्षसहितका पाँच पदाधिकारीका आकाङ्क्षीसँग इच्छा पत्र मागेको थियो ।

अध्यक्षमा तीन जनासहित कुल पदाधिकारीमा ५३ जनाले इच्छा पत्र दर्ता गराएका थिए । ४ र ५ फागुनमा आकाङ्क्षीका बिचमा सहमति खोजिने भनिएको थियो तर अधिवेशनको बन्द सत्र सुरु भइसक्दा पनि सहमति जुटेको छैन ।

औपचारिक, अनौपचारिक रुपमा माथिल्लो तहका नेता र आकांक्षीकाबीचमा छलफल भइरहेको बताइए पनि अहिलेसम्म कुनै कुराको टुङ्गो नलागेको एमाले नेताहरू बताउँछन् ।

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले आकांक्षा राखेका छन् । जिल्ला उपसचिव ममताप्रसाद चौधरीले पनि निर्वाचन नै हुने भए अध्यक्षमा दाबी गर्ने बताइरहेका छन् ।

तर उनीहरूबिच नै छलफल नभएकाले उपाध्यक्ष, सचिव र दुई उपसचिवको विषयमा छलफल नै सुरु भएको छैन ।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले दाबी गरेका छन् ।

२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा दाबी गरेका छन् ।