अत्तरिया – २०५६ सालमा विद्यालय स्थापनाकालागि भर्ना अभियान लिएर गाउँटोलमा जाँदै गर्दा ‘पिन्सिपल त म्याडम हुनुहुदोँरैछ, स्कुल चलाउन सक्नुहुन्छ र?’ भनेर टिप्पणी गर्ने धेरै थिए । नहुन पनि कसरी पढेलेखेका महिलाहरु भेटिन निकै मुस्कील थियो । त्यसमा पनि स्नातक तह पढेका महिला त औँलामा गन्न सकिने मात्रै । पढे लेखेकाले पनि आफै केहि गर्ने आँट गर्दैनथे,बरु जागीर खान्थे । तर कञ्चनपुरबाट बिहे गरेर कैलालीको अत्तरिया पुगेकी लक्ष्मी सिंहलाई भने म आफै केहि गर्छु भन्ने लाग्यो ।
करिब तीन वर्ष कञ्चपुरकै एक निजी विद्यालयमा अध्यापन गराईसकेकी उनले कैलालीको अत्तरियामा निजी विद्यालय सञ्चालन गर्ने साहस गरिन् । उनको साहसमा ईटा थप्ने काम उनका ससुरा र श्रीमानले पनि गरे । जस्को परिणाम स्वरुप स्थापना भयो ‘होलील्याण्ड एकेडेमी ’ । ससुराले दिएको ३५ हजार रुपैँया माथी श्रीमानले साथीबाट लिएर दिएको दुईलाख ऋण रकम थपेर विद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाएकी थिईन् लक्ष्मीले । त्यसबेला पैदल रिक्सा र ट्याम्पोमा विद्यालयले विद्यार्थी बोक्थ्यो । अहिले आफ्नै भवन,बसहरु सहित विद्यालयको सम्पत्ति करोडौँको भईसकेको छ । डेढ दशकसम्म लगानी थपीरहनु पर्ने अवस्था भएपनि करिब एक दशक भयो,विद्यालयकै आम्दानीले विद्यालय चलीरहेको छ ।
अर्कै क्षेत्रमा कार्यरत रहेका श्रीमान मान बहादुर चन्दलाई पनि विद्यालय स्थापनाको दुई वर्षपछि लक्ष्मीले यतै बोलाईन् । अब उनीहरु दुवैजनाको परिश्रम एकै ठाउँमा मिसियो । तत्कालीन समयमा गाउँ नै मानीने झन्झटपुर ( हाल गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुर) को क्षेत्रलाई लक्षित गरि ६० जना विद्यार्थीबाट स्थापना भएको होलील्याण्ड एकेडेमीमा हाल एक हजार दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । सरकारी जागीरकालागि मरिहत्ते नै गर्ने हाम्रो परिवेशमा लक्ष्मीले भने सिफारीस भएर पनि सरकारी जागीर खाईनन् ।
“२१ वर्षमा हुलाकको लागि खरिदारका सबै परिक्षामा पास भएर दार्चुला सिफारीस भए,भर्खर बिएसी जोइन भईराख्थ्या थे पढाई बिग्रीन्छ,त्यहाँ गए पढ्न पाईदैन भनेर जागीर छोडिदिए,”५१ वर्षीय लक्ष्मीले विगत सम्झीँदै भनीन् । ‘हेडम्याम’ भनेपछी बालबच्चाहरु कहिले डराउँछन्,कहिले जिस्कीन आउँछन् । ‘हेडम्याम’ लक्ष्मीको व्यस्तता अहिले पनि सुरुवाती समयको जस्तै छ । बिहान पाँच बजेकै सेरोफेरोमा सुरु हुने उनको दैनीकी सकिने समय भने निश्चीत हुँदैन । विद्यालयको औपचारीक कामबाट त उनी करिब ५ बजे नै बिदा हुन्छीन् । “तर विभिन्न गृहकार्यको भने टुङ्गो नै हुँदैन” लक्ष्मीले भनीन् ।
प्रधानाध्यापक महिला नै भएकोले पनि स्कुलको वातावरण मातृत्व मैत्री छ । लक्ष्मीले विद्यालय व्यवस्थापनको पाटो मुख्यरुपमा समाल्छीन् । केहि वर्ष यता उनले व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै विशेष परिस्थीती बाहेक अधयापन गराउन छोडेकी छिन् । दशैँ तिहारको लामो बिदामा उनलाई कहिले विद्यार्थी भेटौँ जस्तो हुन्छ अचेल । “विद्यालयमा आउँदा सबै प्रकारका तनाव,समस्या बिर्सिन्छ उनले भनीन्, कहिले लामो बिदा परे के गरौँ जस्तो हुन्छ,झन् दशैँ तिहारको लामो बिदा त कटाउनै मुस्कील हुन्छ ।”
होलील्याण्ड एकेडेमीमा रहेका ४८ शिक्षक कर्मचारीमध्य २३ जना महिला छन् । यो २५ वर्षे अवधीमा लक्ष्मीले धेरै कुरा पाएकी छिन्,सिकेकी छिन्,सिकाएकी छिन् । सबैभन्दा ठुलो कुरा त उनले आत्मसन्तुष्टी पाएकी छिन् । “झण्डै १० वर्षभन्दा बढी समयसम्म आफैले पढाएको बच्चा कुनै ठुलो पदमा पुगेपछी आफुलाई भेट्न भनेर आउँदा एक शिक्षककालागि यो भन्दा ठुलो कमाई,सन्तुष्टी अरु के हुनसक्छ?”उनले खुसीका आँसु र्झादै भनीन् । उनले पढाएका केहि विद्यार्थीका छोराछोरी पनि सोहि विद्यालयमा अध्ययनरत छन् ।
आफ्ना आमा बुवाले घरमा आफुहरुकोे बारेमा कुरा गर्दा विद्यालयमा आएर बच्चाले सुनाउने गरेको उनले अनुभव सुनाईन् । “आफुले नर्सरीदेखी नै पढाएका बच्चा नौ,दशमा पुग्दा किशोराअवस्था प्रवेश गरिसक्छन् । उ पढीरहेको छ वा छैन,उस्को व्यवहारमा कस्तो परिर्वतन आएको छ, हामी शिक्षकले उसको अनुहार पढेरै धेरै कुरा बुझ्न सक्छौँ। आमा बुवालेजस्तै”,उनले भनीन् । विद्यालय सञ्चालनपछी नै दुई सन्तानकी आमा बनेकी उनलाई २२ दिनकी नवजात छोरी बोकेर स्कुल आउने गरेको आफ्नो दैनीकी हिजोजस्तै लाग्छ ।
सुरुवाती दिनमा महिलाले स्कुल चलाउन सक्छन होला र भनेर प्रश्न गर्ने समाज अहिले भने सकरात्मक बनेको लक्ष्मीको बुझाई छ । “महिलाको नेतृत्वमाथि अविश्वास गर्नेक्रम केहि घटेको छ तर जती मात्रामा नेतृत्वमा महिला हुनुपर्ने हो,त्यो हुन सकेको छैन ”,उनले भनीन् । पछील्लो समय विद्यार्थीको लगनशिलतामा कमी आएको भन्दै उनी भन्छीन् “पहिले पहिले विद्यार्थीले मिहिनेत गर्थे,अनुशासित थिए तर अहिले त विद्यार्थीले मात्रै होईन अभिभावकले पनि आफ्नो जिम्मेवारी गुमाउँदै गएका छन्,छोराछोरीलाई समय नै दिदैनन् ।”
सामाजिक सञ्जालको अत्याधिक प्रयोग,आफुलाई चाहिने र काम लाग्ने भन्दा पनि विश्व बजारमा हुने गरेका घटनाको बढी जानकारी राख्न खोज्दा पछील्लो समयका विद्यार्थीले उपयोगीमुलक शिक्षा ग्रहण गर्न नसकिरहेको उनको बुझाई छ । अचेल धेरैजसो राती अबेरसम्म मोबाईल चलाएर बस्ने र बिहान स्कुलमा आएर ताजा दिमागले पढ्न नसक्ने अनि शिक्षकसंग झोक्किने प्रवृति अहिलेका विद्यार्थीमा देखिने गरेको उनी बताउँछीन् । छोटो समयमै परिवर्तन भईरहने पाठ्यक्रम र शिक्षकलाई प्रदान गरिने तालिमको अभावले शिक्षा क्षेत्रको नतिजा उत्साहजनक नरहेको उनी बताउँछीन् ।
सरकारी विद्यालय“का शिक्षकलाई पनि पहिले महिनौ तालिम दिईन्थ्यो अहिले त्यो छैन,नीजी क्षेत्रका हामीहरुले पनि शिक्षकलाई तालिम प्रदान गर्ने विषयमा गम्भीर बन्नुपर्छ” लक्ष्मीले भनीन् । शिक्षकले आफ्नो पेशाप्रति बफादार बन्नुपर्ने उनी बताउँछीन् । पछील्लो समय सामाजिक रुपान्तरणका नाममा आफ्नो धर्म,सँस्कृति,अनुशासन कायम गर्न शिक्षक पनि चुकेको उनको भनाई छ । लक्ष्मीको बुझाईमा नीजी विद्यालयका थुप्रै चुनौतिहरुमध्य दक्ष जनशत्ति नपाउनु पनि एक हो ।
निजी विद्यालयलाई प्राक्टिस गर्ने थलोका रुपमा मात्रै धेरैले लिने गरको उनी बताउँछीन् । उच्च शिक्षा अध्ययनकालागि अहिलेकै क्रममा विद्यार्थी बाहिरिने क्रम नरोकिए केहि वर्षमै शिक्षक पाउन समेत मुस्कील पर्ने लक्ष्मीको भनाई छ । पोलिटिकल साइन्समा स्नातकोत्तर गरेकी उनी कक्षामा शिक्षकले उपस्थीत हुँदा पुर्ण तयारीका साथ उपस्थीत हुनुपर्ने बताउँछिन् ।
माथील्ला कक्षामा पढाउन आँट गर्दैनन् महिला शिक्षक
लक्ष्मी महिला शिक्षकहरु माथील्ला कक्षामा पनि अध्यापन गराउन भन्ने चाहन्छीन् । तर योग्यता पुगेका धेरैजसो महिला शिक्षकहरु समेत कक्षा ८ भन्दा माथी पढाउने आँटै गर्दैनन् । त्यस्को एउटै कारणका रुपमा तयारी गर्ने समय नपाउनुलाई उनी लिन्छीन् । “दिनभरी स्कुलमा हुन्छन्,घर गएपछी घरको काम पुर्णरुपमा एक्लै गर्नुपर्छ,माथील्ला कक्षा पढाउन अलि बढी तयारी गर्नुपर्छ,जस्कालागि उहाँहरुको समय हुँदैन उनले भनीन् ।”
तर घर पायक हुने भएका कारण पुरुषभन्दा शिक्षण पेशामा महिलाको आकर्षण रहेको उनको भनाई छ । आगामी दिनमा सरकारका सम्पुर्ण शैक्षिक मापदण्ड पुरा गरी होलील्यान्ड एकेडेमीलाई थप व्यवस्थीत तरीकाले अगाडि बढाउने उनको योजना छ । शिक्षा जीवनउपयोगी हुनुपर्छ भन्ने उदेश्यले होलील्यान्ड एकेडेमीमा होटल मेनेजमेन्ट,फेसन डिजाइनिङ्ग जस्ता विधाहरु अध्यापन गराईरहेको लक्ष्मीको भनाई छ ।