धनगढीलाई हरियाली बनाउने अभियान जारी

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ । धनगढीलाई हराभरा बनाउने अभियानअन्तर्गत तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रम सुरू भएको छ ।

हरियो प्रवद्र्धन कार्यक्रमका क्रममा शुक्रबार धनगढी विमानस्थल जोड्ने सडकको दुवै किनारामा बिरुवा रोप्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाका अनुसार तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रममा पाँच हजार पाँच सय बढी विभिन्न प्रजातीका बोट रोप्ने लक्ष्य लिइएको छ । धनगढी विमानस्थल जोड्ने सडक तथा वडा नम्बर १३, चक्रपथ र वडा नम्बर २ देखि वडा १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा ठूलो परिमाणमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारुले विमानस्थल सडकमा विरुवा रोपेर अभियानको सुरुवात गरिन् । तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानअन्तर्गत धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा लगाइने छन् ।

उपमहानगरपालिका कार्यालयले तेस्रो चरणको हरियाली अभियानमा विमानस्थल सडक, चक्रपथ र हुलाकी सडकको दुवै किनारामा विभिन्न प्रजातीका विरुवा रोपिने जनाएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले भने– तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानमा साढे पाँच हजार बढी विरुवा रोपिने छन् ।

उपमहानगरपालिकाले हरियालीयुक्त धनगढी सहर नारासहित चालू आर्थिक वर्ष २०७९÷८० बाट वृक्षारोपण अभियान अघि बढाएको छ । अहिलेसम्म उपमहानगरपालिकाभित्रको ६ लेन सडकको बीच (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ । त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । बजार क्षेत्रका निर्माण भइसकेका सडकहरूमा समेत बृक्षारोपण भएको छ ।

नगर प्रमुख हमालले हरियाली धनगढी शहरको नारा साकार पार्न वृहत रुपमा वृक्षारोपण अभियान अघि बढाइएको बताए । उनले भने– हामी आम नगरबासीको साथ र समर्थनबाट यो अभियान अघि बढाइरहेका छौ । नागरिकको स्वामित्व भएकोले यो अभियान सफल हुने विश्वास छ ।

उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली (ट्री–गार्ड) राख्नुका साथै मल हाल्ने, सिँचाईं गर्ने र नियमित रुपमा गोडमेल गर्ने काम गरिरहेको छ । हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरणसम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने जनाइएको छ ।