अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमापछि विश्वासको मत लिने तयारी गरेका छन् ।
सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्यथालेका हुन् । आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई दुई साताअघि मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्ट र स्वतन्त्र तारा जोशीलाई साथमा लिएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री शाहलाई कांग्रेस, नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाले पक्षमा मतदान गरेमा आवश्यक सङ्ख्या ठ्याक्क २७ पुग्छ ।
५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।