धनगढी – सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरीको रौनक बढेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेको हो । माघ पूर्णिमादेखि फागुनपूर्णिमासम्म एक महिना आठ दिन यो समुदायले होरी पर्व मनाउने चलन रहेको छ ।
अहिले रानाथारू बस्ती होरीको गीत र नाचगानले गुञ्जायमान बनेको नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा. जीवन रानाले बताए । होरी पर्व रानाथारूको सबैभन्दा ठुलो पर्व हो । डा. रानाका अनुसार रानाथारू समुदायले जिन्दा र मरी गरेर दुई प्रकारले होरी मनाउने चलन छ ।
माघ पूर्णिमादेखि होलिका दहनको समयसम्म मनाइने होरी पर्वलाई जिन्दा होरी भन्ने गरिन्छ । यो अवधिमा पधना, भलमनसा, चाकर, चौकीदारको घरपछि गाउँका अरू मानिसको घरमा राति होरी नाच नाच्ने चलन रहेको रानाले बताए । जिन्दा होरीको अवधि एक महिना रहने गरेको छ ।
होलिका दहनपछि आठ दिनसम्म मरी होरी मनाइने गरिन्छ । मरी होरी सुरु भएको बेला रङ, अबिर खेल्ने र फगुहा दिने चलन रहेको बताइएको छ ।
त्यस्तै भिनाजुले सालीलाई रङ, अबिर दलेर केही उपहार दिनुलाई फगुहा भन्ने गरिन्छ । त्यसै गरी साला र जेठानको श्रीमतीलाई पनि रङ, अबिर दलेर फगुहा दिने चलन रहेको छ । मरी होरीमा पधना, भलमनसा, चाकरको घरमा होरीको टीका लगाइसकेपछि होरी नाच नाच्ने र रमाउने, मिठो मिष्ठान खाने चलन रहेको छ ।
मरी होरीमा दिउँसोको समयमा मात्रै होरी नाच नाच्ने चलन रहेको जनाइएको छ । मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँभरिका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुने गरेको बताइएको छ ।
खख्डेहरा फुटाएको दिन आफ्ना आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर हट्कना (मिठा मिठा खानाको परिकार) खुवाउने चलन रहेको छ । खख्डेहरा फुटाएर होरी पर्वको समापन गर्ने गरिए पनि होरी सेलाउने कार्य भने चराइँमा हुने गरेको धनगढी उपमहानगरपालिका–८ का पूर्वभलमनसा सन्तराम रानाले बताए ।
चैतमा चराइँ पर्व मनाइन्छ । “यसरी जिन्दा र मरी गरेर हाम्रो समुदायमा एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन रहेको छ,” उनले भने । नेपाल रानाथारू समाजका पूर्वअध्यक्ष रानाले असत्यमाथि सत्यको जित भएको खुसियालीमा रानाथारू समुदायले रमाइ रमाइ होरी पर्व मनाउने गरेको बताए ।