Attariya Hospital Pvt.Ltd.

बालापन र रेडियो नेपाल

padma
milan sunchadi

अत्तरिया – मेरो बालापन भन्नासाथ मैले रेडियो नेपाल सम्झिन्छु, किनकी मलाई याद भएको बालापनदेखि बालापनको उत्तरार्धसम्म रेडियो नेपालनै प्रिय साथी थियो । रेडियो नेपालको कस्तो छाप बस्यो दिमागमा ? बालापनका हरेक कुराहरु मानसपटलमा ताजा रहन्छन् की रेडियो नेपालका मात्रै हुन् ? अहिले पनि अलमल हुन्छु । किनकी मेरो बालापन सम्झिदा मैले रेडियो नेपाल बाहेक अरु कमै पाउँछु ।

२०६८ सालमा पहिलो पटक काठमाडौँ गएको बेला सिंहदरवारमा रहेको रेडियो नेपालको टावर बाहिरैबाट देख्दा मन्दिरमा जस्तै ढोग्न मन लागेको थियो, आँखाबाट आँसु खसेको थियो । रेडियो सेटबाट त एफएम पनि बज्छन् । तर करिब दुई दशकअघिको त्यो समयमा हाम्रा लागि रेडियो भनेको केवल रेडियो नेपालमात्रै थियो । अहिले सम्झिदा हाम्रा लागि रेडियो सेट र रेडियो नेपाल पर्यायवाची थिए जस्तो लाग्छ ।

किनकी कपडाको खोल हालेको बाजेले बोक्ने रेडियोको त्यो सेटबाट केवल रेडियो नेपाल बज्थ्यो । अहिलेको जस्तो गाउँगाउँसम्म पुग्ने एफएमको प्रसारण दुई दशक अगाडि थिएन । रेडियोले मनोरञ्जनमात्रै दिन्थेन,आवश्यक,सिमित जानकारी पनि त्यहिबाट पाईन्थ्यो । त्यतिबेला रेडियो नेपाल अहिलेजस्तो चौबिसै घण्टा पनि प्रसारण हुन्थेन ।

Siddi ganesh

शनिबारबाहेक मध्याह्न १२ बजेदेखि २ बजेसम्म २ घण्टा बन्द हुन्थ्यो । राति ११ बजे बन्द भएर बिहान ५ बजे सुरु हुन्थ्यो । रेडियोको प्रसारण नभएको समयमा टुँ.. गरेर आवाज आइरहन्थ्यो । बिहान ५ बजे शंख ध्वनि बजेसंगै रेडियोको प्रसारण सुरु हुन्थ्यो । तर बाजेले ४ नबज्दै रेडियो खोलेर छोडिदिएको र आवाजले सुत्न नपाइएको भनेर बज्यैले बेलाबेलामा गर्ने गुनासो हाम्रा लागि हाँसोको विषय बन्थ्यो । वास्तवमा मेरा बाजे पनि रेडियो नेपालका नियमित स्रोता हुनुहुथ्यो ।

दिउँसो गोठालो जाने भए पनि बिहान करिब ११ बजेसम्म र बेलुकी ५ बजेपछि बाजेको साथी रेडियो थियो वा भनौँ रेडियो नेपाल थियो । सायद त्यही देख्दै, सुन्दै मलाइ पनि बानी प¥यो । बिहान ६ बजेको समाचार पढ्ने हरिशरण लामीछाने होउन वा बेलुकी ७ बजेको समाचार पढ्ने कोमल वली । दिउँसो १ बजे, ३ बजेको समाचार पढ्ने सुनील थापा, जर्नादन बिष्ट, सन्तोष रेग्मी होउन वा २ बजेको अंग्रेजी समाचार पढ्ने महेन्द्र रायमाझी ।

बिहान ६ बजेको समाचारपछि पत्रपत्रिकाबाट साभार समाचारहरु पढ्ने उषा लोहनी र प्रवीण पोखरेल होउन वा ‘रेडियो नेपालका लागि चन्द्र बाँनिया काठमाडौँ’ भन्दै रिपोर्ट सुनाउने चन्द्र बाँनिया होउन । यी सबैका आवाज अहिले पनि कानमा गुन्जिरहन्छन् । बेलुकी ७ बजे कोमल वलीले समाचार पढ्थिन्–‘सरकारले मट्टितेलको मूल्य २ रुपैँया बढाएर २१ रुपैँया पु¥याएको छ ।’

बाजेले सरकारलाई आफ्नै भाषामा गाली गर्नुहुन्थ्यो, फेरि महङ्गी बढ्ने भयो भन्दै । गाउँमा बिजुली थिएन । उज्योलोको रुपमा मट्टितेलबाट बल्ने लाल्टीन र टुकीको प्रयोग हुने भएकोले सायद बाजेलाई डिजेल, पेट्रोलभन्दा मट्टितेलको मूल्यसँग बढी सरोकार हुन्थ्यो होला । समाचारकै क्रममा शेरबहादुर देउवाको नाम कहीँ आउँदा बाजेले रेडियो अझै कान नजिक लगेर सुन्नु हुन्थ्यो र समाचार सकिएपछि गर्वले देउवासँग सम्बन्धित कुरा गर्नु हुन्थ्यो । देउवासँग न चिनजान, न कुनै लाभ ।

सायद स्थानले प्रभाव पार्दो रहेछ क्यारे ! समाचारमा देउवाको नाम आए बाजेले आफ्नै भावमा सम्मान व्यक्त गर्नुहुन्थ्यो । त्यहि देखेर होला शेरबहादुर देउवाले जिल्ला, प्रदेश वा देशका लागि के गरे भन्ने बहसलाई परै छोड्ने हो भने उनीप्रतिको मेरो सम्मानमा अहिले पनि रत्तिभर कमी आएको छैन । रेडियो नेपालबाट प्रसारण हुने हरेक कार्यक्रमहरु पनि नछुटाइ सुन्ने गर्थेँ म ।

किताबका पाठहरुलाई कोमल वलीको शैलीमा समाचार झैँ पढ्ने प्रयत्न गर्थेँ । गोकर्ण रेग्मीले चलाउने लोकभाका होस् वा राम अविरल,नरहरी न्यौपानेले चलाउने लोकलहर, टीका भण्डारीले चलाउने साज र आवाज होस् वा प्रज्ञा सरदले चलाउने संगिताञ्जली, चन्दा बिष्टले सञ्चालन गर्ने आजका नारी होस् वा बविता खनालले चलाउने के तिमी मेरो साथी बन्छौ होस् ।

साथीसँग मनका कुरा, नविन दाहालले चलाउने गजलगंगा होस् वा नवराज लम्सालले चलाउने मधुवन होस् वा केन्द्रिय प्रसारणबाट डेउडा गीत बज्ने एकमात्रै कार्यक्रम सुरेश शाही र सम्पदा शाहीले चलाउने भलासुकाली होस् । ५ बजेको बाल समाचार र ताराप्रसाद वस्थीले चलाउने बालबाटीका कार्यक्रम । यी लगायतका थुप्रै कार्यक्रमहरु र कार्यक्रममा सहभागी हुने नियमित श्रोताका नामसमेत अहिले पनि मानसपटलमा ताजा छन् ।

भलासुकाली, गजलगंगा र मधुवन मेरो अंकलका पनि प्रिय कार्यक्रम थिए । अंकलले आफ्नो लागि ल्याएको सानो रेडियो थियो, जुन यताउती जाँदा पनि सजिलै बोकेर लग्न मिल्थ्यो । स्कूल विदा भएको दिन गहुँ खेतमा डोकोमा घाँस लिन जाँदा त्यही सानो रेडियो बोकेर रेडियो नेपाल सुन्दै जान्थेँ म पनि । प्रजातन्त्र दिवस, रेडियो नेपालको वार्षिकोत्सव अनि लोकतन्त्र दिवसमा सैनिक मञ्च टुडिँखेलबाट रेडियो नेपालले गर्ने प्रत्यक्ष प्रसारण सुन्दा अहिलेका लाइभ भिडियो हेरेकोभन्दा बढी आनन्द प्राप्त हुन्थ्यो ।

घरमा कोही नभएका बेला एक कुनामा उभिएर त्यहीँ प्रत्यक्ष प्रसारणका वाक्यांशहरुलाई दोहो¥याएर बोल्ने प्रयास गर्थेँ म । अहिले स्टुडियोमा समाचार पढ्न जाँदा होस् वा कार्यक्रम चलाउँदा होस्, भिडियो लाइभ अनि त्यही दृश्यमा त्यहीँ मोबाइल खसेको ड्याङ्ङ आवाज, प्रस्तोतानै घरी नाकले स्वाँस्वाँ, घरी खोकेको, घरी लाइभमा हेर्दै लुगा मिलाइ राखेको दृश्यहरु देख्दा लाइभ हेरिरहेको आफ्नै मोबाइल फुटाउलौजस्तो पनि लाग्छ ।

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दीपायलबाट तेजु खड्का, उद्धवसिंह च्वागडी, लिला गर्तौला, रुक्मणी पोखरेल, धिरेन्द्र चटौत, टेकबहादुर ऐरलगायतका आवाज अनि सेरोफेरोलगायतका कार्यक्रम । रेडियोमा गाउँ वा छिमेकी गाउँका कसैको चिठी प्रसारण भएमा गाउँभरिनै चर्चा हुन्थ्यो । गाउँमा १० कक्षासम्म पढ्दा रेडियोनै प्रिय साथी भयो ।

त्यतिबेला हेमन्त शर्मा, अन्जु पन्त, आनन्द कार्की, उदितनारायण झा लगातयका कलाकारका गीतहरु रेडियो नेपालबाट बढी बज्थे । त्यस्तै राजु परियार, विष्णु माझी, पुष्कल शर्मा, देवी घर्ती, पुरुषोत्तम न्यौपाने, विष्णु खत्री, कस्तुप पन्त, खुमन अधिकारी, लक्ष्मी न्यौपाने, बिमाकुमारी दुरा, शर्मिला गुरुङलगायतका कलाकारका लोकदोहोरी गीतहरु बढी बज्थे रेडियोबाट । प्राय लोकगीतहरु सुन्दै भ्यारोन कम्पनीको कापीमा उतारिन्थ्यो ।

त्यसैगरी डेउडामा भोजराज भट्ट, भुवन दाहाल, हरिना साउँद, चाँदनी मल्ल, डिग्रा गाइनेलगायतका कलाकारले गाएका गीतहरु रेडियो होस् वा क्यासेटमा होस्, सुन्न पाइथ्यो । घरमा बाजे, बज्यै, आमा बुवा, अंकलले भन्थे, ‘यसको बिहेमा एउटा रेडियो दाइजो दिनुपर्छ ।’ यतिमात्रै होइन कहिलेकाँही रेडियोकै आवाजले कसैले बोलाएको सुन्दा गाली खाइन्थ्यो–“यसका घाँटीमा रेडियो बाँधिदिन्छु ।’

कक्षा १० को टेस्ट परीक्षा दिइसकेपछि भने मेरो रेडियो नेपाल सुन्ने क्रम घट्दै गयो । टेस्ट परीक्षा पास भएपछि एसएलसीको तयारीका लागि डडेल्धुरा सदरमुकाम आइयो । रेडियो घरमै छुट्यो । चैतमा एसएलसी दिइसकेपछि करिब चार महिना फेरी रेडियो नेपालनै साथी बन्यो । २०६७ असार मध्यतिर एसएलसीको रिजल्ट आयो । ५५ प्रतिशत अंकसहित पास भएँ ।

अंकलले ‘के पढ्ने ?’ भनेर सोध्नु भयो । मैले पत्रकारिता पढ्छु भने । तर मलाइ पायक पर्ने डडेल्धुरा सदरमुकामका कुनै क्याम्पसमा पत्रकारिता विषय पढाई नहुँदो रहेछ । अंकलले बुवासँगको सल्लाहमा धनगढी जाने प्रस्ताव गर्नुभयो तर कहिल्यै नगएको, आफन्त कोही नभएको धनगढीमा एक्लै पढ्न जाने आँट गरिएन । विकल्पमा डडेल्धुराकै माउन्टेन बहुमुखी क्याम्पसमा कमर्स पढेँ ।

डडेल्धुरा सदरमुकाममा रेडियो नेपाल नटिप्ने रहेछ । बुढीतोला एमएम ब्यान्डबाट बजाउनु पर्दो रहेछ । रेडियोमात्रै सुनेर पढाइ बिर्गाछे भनेर बुवाले घरबाट रेडियो लिएर आउन पनि नदिएपछि केही दिन त निकै गाह्रो भयो । ११ र १२ पढ्दाका दुई वर्ष बिदामा घर गएका बेलामात्रै रेडियो सुन्न पाइन्थ्यो । त्यसपछि आफ्नै जिन्दगीले कोल्टे फेरेपछि भने त्यो पनि छुट्यो ।

बिहे भयो, कैलालीको अत्तरिया पुगेँ । बिहेपछिको जिन्दगीमा पनि जब एक्लो महसुस हुन्थ्यो तब रेडियो नेपाल सुन्ने आफ्नो त्यही अतित सम्झिन्थेँ । रेडियो सुन्न मन लागेको कुरा अंकललाई भनेपछि अंकलले रेडियो किनिदिनु भयो । बिहेको तेस्रो वर्ष फेरि रेडियोसँग नजिक हुन पाएँ । त्यतिञ्जेलसम्म एफएमहरुले पनि गाउँ–सहरसम्म पर्याप्त स्थान बनाइसकेका थिए ।

त्यही रेडियोमा एकदिन अत्तरियाकै गोदावरी एफएममा उद्घोषण तालिम सञ्चालन हुने खबर सुनेँ । उद्घोषण तालिम लिएपछि त्यही एफएममा काम गर्ने अवसर पाएँ । जीवनमा आफूले चाहेको काम गर्न पाउँदा जुन सन्तुष्टि मिल्छ, त्यो अन्य कुनै पनि कुरामा नपाइदो रहेछ । मेरो जिन्दगीको ठूलो धोको पूरा गरिदिने मेरो प्रिय गोदावरी एफएम र यसका सञ्चालकप्रति सधै अनुग्रहीत छु । ५ वर्ष अगाडि रेडियो नेपालले खोलेको विज्ञापनमा परिक्षा पनि दिए,तर सफल भने हुन सकेन ।

रेडियो नेपाल हिजो जति प्रिय थियो आज त्योभन्दा पनि बढी प्रिय छ । किनकी रेडियो नेपाल सुन्ने मेरो अतितसँग मेरो बालापनको अतित छ । बालापनजस्तो सुन्दर समय जीवनमा अरु कुनै हुनै सक्दैन भन्ने मैले बुझेको छु । मेरो त्यही प्रिय रेडियो नेपालको आज ७४ औँ स्थापना दिवस । स्थापना दिवसको अवसरमा अनमोल शुभकामना प्रिय रेडियो नेपाल !

Nawadurga
Leave A Reply

Your email address will not be published.