धनगढीमा पनि पठाओ ले ‘बाइक राइड’ सेवा विस्तार गर्ने

Image

अत्तरिया – राइड सेयरिङ व्यवसाय कम्पनी पठाओ ले कैलालीको धनगढीमा पनि ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ।

मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार धनगढीमा पनि सेवा विस्तार गरिने पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले बताए। राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब धनगढीसम्मै पुग्ने भएको हो।

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ। यसका लागि बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ।

राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन कम्पनीले आह्वान समेत गरेको छ। कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम दिइनेछ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ।