उपनिर्वाचन अन्तर्गत बझाङ-१(१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।्
१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै इलाम क्षेत्र नं. २ मा मतदान सुरु भएको छ। सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए।
यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।
नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम-२ मा निर्वाचन हुन लागेको हो। यहाँ १९ जना चुनावी प्रतिस्पर्धामा छन्।