बडिमालिका जवान तालिम शिक्षालयले मनायो २३ औँ स्थापना दिवस

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थीत बनबेहडामा रहेको सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयले २३ औं स्थापन दिवस मनाएको छ । शिक्षालयले सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानीरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा एक समारोहका बिच सोमबार २३ औं स्थापना दिवस मनाएको हो ।

२३ औं स्थापना दिवसको अवसरमा शिक्षालयले केहि दिन अघि देखी नै विभिन्न प्रतियोगिताहरुको आयोजना समेत गरेको थियो । आज दिवसको अवसरमा गरिएको औपचारिक समारोहमा प्रतियोगिताका विजेताहरु लाई प्रसंसापत्र र पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी शिक्षालयबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई नगदसहित सम्मान गरिएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महा निरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी देशको रक्षक भएकोले सशस्त्र प्रहरीको बर्दी लगाएको व्यत्तिले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताए । उनले अपराधीलाई बर्दी देख्नासाथ डर र सज्जनलाई भर हुने वातावरण सिर्जना गर्न ईमान्दार भएर काम गर्नुपर्ने बताए ।

संगठन पुरस्कार र दण्डको नितिमा रहेकोले निति अनुसार चल्न उनले सशस्त्र प्रहरीहरुलाई आग्रह गरे । बडिमालिका तालिम शिक्षालय सशस्त्र प्रहरी कर्मचारी उत्पादन गर्ने महत्वपुर्ण विद्यालय भएकोले शिक्षालयमा सिक्ने र सिकाउने दुवै पक्ष अरुभन्दा केहि पृथक र विशेष हुनुपर्ने उनको भनाई थियो ।

स्थापना दिसवको अवसरका आयोजीत उत्त समारोहमा विभिन्न सांगीतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको हो । बडिमालीका जवान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नीरकृष्ण अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै समय समयमा गरिने यस्ता कार्यक्रमले काम गर्ने जाँगर बढ्नुकासाथै व्यत्तिहरुका भावना जोड्न समेत सहयोग पुग्ने बताए ।

उनले सशस्त्र प्रहरी बल राज्यको भरपर्दो सुरक्षा निकायकोरूपमा स्थापित भएको भन्दै उनले यो विश्वास कायम राख्न हरेक कर्मचारीले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताए । राज्यमा आईपर्ने हरेक सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको उनले बताए ।

समारोहमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रविन्द्र केशी,राजमार्ग सुरुक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेत,कैलालीका विभिन्न नगरपालिकाका नगर प्रमुखहरु,विभिन्न संघसँस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।