अत्तरिया – विपद्मा यौन तथा प्रजनन स्वास्थ्य अधिकार संरक्षण सम्बन्धमा कैलालीको गोदावरी नगरपालिकाबाट भएका नीतिगत व्यवस्था सम्बन्धी छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च (एफब्लूएलडी) ले मंगलबार अत्तरियामा एक कार्यक्रमको आयोजना गरी गोदावरीका नगर प्रमुख,उप प्रमुख लगायतका जनप्रतिनिधि,शाखा प्रमुखहरु र नगरका सबै स्वास्थ्य सँस्थाका स्वास्थ्यकर्मीहरू सँग छलफल गरेको हो ।
गोदावरी नगरपालिकाको स्वास्थ तथा सरसफाई कार्यविधि, २०७७ जारी भएको र उक्त कार्यावधिमा प्रजनन स्वास्थ सम्बन्धी नीतिगत व्यवस्था भएको बताईएको छ । त्यस्तै स्वास्थ्य नीतिमा सुरक्षित मातृत्व, खोप, पोषण तथा परिवार नियोजन सेवालाइ प्राथमिकताका साथ उपलब्ध गराउने, बिपदमा समुदायमा रहेका महिला गर्भवती, सुत्केरी वा शिशुलाई स्तनपान गराउने, महिला बालबालिका, किशोरकिशोरी, वृद्धवृद्धालाइ सुरक्षित स्थानमा लान प्राथमिकता हुने नीतिगत व्यवस्था गरिएको बताईएको छ ।
नगरपालिकाको भू उपयोग नीति २०७९ जारी भई जोखिम संवेदनशिलताका आधारमा भूमीको वर्गिकरण गरि सुरक्षित आवासीय क्षेत्रको रुपमा वर्गिकरण गरेको छ। त्यस्तै नगरपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन, २०८० जारी भएको छ । जस्ले पालिकाबाट सञ्चालन हुने सबै प्रकारका क्रियाकलापमा लैंगिक समानता तथा सामाजिक समावेशी मैत्री बनाउने उद्देश्य लिएको छ ।
निति बनाउने कुरामा नगरपालिका अग्रणी स्थानमा रहेको महिला कानुन र विकास मञ्चका प्रतिनिधीको भनाई छ । गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको उत्त कार्यक्रमको सञ्चालन अधिवक्ता रेणु प्रधान श्रेष्ठले गरेकी थिईन । गोदावरी नगरपालिकालाई कार्यक्षेत्र बनाएको महिला कानुन र विकास मञ्चले नितिगत रुपमा प्रदेश र संघिय सरकारलाई पनि सहयोग गर्दै आएको छ ।