अत्तरिया – वैशाख कृष्ण औँसी। नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ।
सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।
छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटोजस्ता उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने चलन छ। आमा नभएका भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गरेर उनको सम्झना गर्छन्। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
मनुस्मृतिमा ‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ।
महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले ‘आमा’ भन्ने जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’